• १३ असोज २०८१, आइतबार

सखर बनाउने चटारो

blog

राधा लुइँटेल

फिदिम, फागुन २१ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–७ का भीमप्रसाद पोखरेल उज्यालो हुनासाथ उखु काटेर पेल्न थाल्नुहुन्छ । पुस १५ गतेदेखि सखर बनाउन थाल्नुभएका उहाँको फागुन महिनाभरि यसरी नै चल्छ । 

पाँचथरकै फिदिम नगरपालिका–४ का बुद्धि खपाङ्गीले हेवा खोलानजिकै बेँसीको खेत भाडामा लिएर उखु रोप्नुभएको छ । फिदिम–४ र हिलिहाङ–७ मा ग्यावराको बीचमा बगेको हेवा खोला आसपास तीन सय रोपनीभन्दा धेरै क्षेत्रमा गेँवरा (गेमरा) जातका उखु खेती भएको छ । 

गेँवरा उखुमा औषधीय गुण हुने विश्वासले धेरै माग हुने गरेकाले धान खेती छोडेर उखु खेती भइरहेको छ । 

“धान खेतीमा रोग–कीराको प्रकोप बढ्दै गएपछि त्यसलाई त्यागेर उखुतर्फ लागेका हौँ,” हिलिहाङ–७ का पुष्कल पोखरेलले भन्नुभयो । किसान अहिले उखु पेल्न र सखर बनाउन बेँसी खेतमै झरेका छन् ।यस स्थानमा कालो, सेतो र रातो गरी तीन थरी गेँवरा उखु उत्पादन हुन्छ । 

अगुवा किसान भीमप्रसाद पोखरेलका अनुसार यी फाँटमा किसानले धेरैअघिदेखि नै उखु खेती र सखर बनाउँदै आएका हुन् तर यसले २०६७ सालदेखि व्यापकता पाउन थालेको उहाँले बताउनुभयो । अहिले फिदिम–४ र हिलिहाङ–७ मा मात्रै २५ परिवारले व्यावसायिक उखु खेती गरिरहेका छन् ।

आफ्नै अनुभव र सीपले उखु खेती गरेर सखर उत्पादन गर्दै आएका किसान स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायबाट प्राविधिक सहयोग नपाएको गुनासो गर्छन् ।

यहाँ उत्पादित उखुबाट निर्मित सखर जिल्लाका विभिन्न स्थानबाट आएका उपभोक्ताले घरैबाट किनेर लैजान्छन् । योसँगै झापा, काठमाडौँ र पोखरासम्म लैजाने गरेको किसान बताउँछन् । यहाँ उत्पादन भएको सखर प्रतिकिलो पाँच सय रुपियाँमा बिक्री हुन्छ ।