काठमाडौँ, फागुन २१ गते । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल आइतबार बिक्री गर्ने भएको छ ।
राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको ट्रेजरी बिल, १८२ दिन अवधिको सात अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।
जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी भदौ १९ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल आइतबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र सर्वसाधारण नागरिक सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।