• ३ असार २०८१, सोमबार

ट्राफिक प्रहरीद्वारा सवारी चेकजाँचमा कडाइ

blog

ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्दै । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, फागुन २० गते । डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि माघ मसान्तसम्म सात महिनामा सवारी कारबाहीबाट मात्र ६ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ ।

आर्थिक वर्ष २०७९–८० को साउनदेखि माघ मसान्तसम्म ट्रक ४६ जिप ३ सय २३ ट्र्याक्टर १ हजार ९५१ र मोटरसाइकल १ सय ७६ गरेर २ हजार ४९६ सवारी साधनलाई चेकजाँचको क्रममा कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाले जानकारी दिनुभयो ।

त्यस्तै, डोल्पा जाजरकोट सडक खण्डमा सञ्चालन हुँदैआएका विभिन्न सवारी साधनको अवस्था पहिचानका लागि यान्त्रिक परीक्षण समेत गरेको छ । ट्राफिकले गाडी मर्मतमा सबै  ज्ञान भएका मेकानिकल समेतको टोली खटाएर डोल्पाको त्रिपुराकोट बजार कालागौडा र दुनै बजारमा पर्ने सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षण गर्नेक्रममा २४ वटा सवारी साधनको अवस्था नाजुक रहेको ब्रेक नभएको साइड ऐना नभएको पाइएको छ ।

लामो समयसम्म सर्भिसिङ गर्नुपर्ने अवस्था भए पनि नभएको थोत्रा र यात्रु चढ्नै डरलाग्दो अवस्थामा रहेको पाइएकाले मर्मत तथा रिकन्डिसन बनाउन दुई साताको समय दिइएको र पुनः चेकजाँचको क्रममा मर्मत नगरिएको पाइएमा सवारी साधन जफत गरिनुका साथै चालकलाई समेत कारबाही गरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

त्यस्तैगरी ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्म जिल्लामा ११ वटा सवारी दुर्घटना भएका छन् । विभिन्न समयमा भएका दुर्घटनामा परेर ६ पुरुष १ महिला र १ बालक गरेर ८ जनाको मृत्यु भएको छ ।

नेपाली सेनाले २०७५ मङ्सिर ४ मा जाजरकोट डोल्पा सडकलाई निर्माण कार्य सम्पन्न गरेर  २०७६ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । डोल्पा र रुकुम जिल्लाको सीमा क्षेत्र साङ्लेदेखि सदरमुकाम दुनैसम्मको आन्तरिक सडक खण्डमध्ये भेत्तीमा पर्ने बतासे डाँडा, जुफाल डाँगीवडाको घुम्ती, साङ्लेभीर र सिउडेनी घुम्तीमा बढी दुर्घटना हुनेगरेको छ ।

उच्च दुर्घटनास्थल भए पनि सडक विभागले जोखिम सडकखण्ड पहिचान नगरेर सडक जोखिम सूचना टाँस समेत नगरेकाले पनि सवारी चालकलाई समस्या भएको ट्राफिक कार्यालयको भनाइ छ ।