• १३ असोज २०८१, आइतबार

चार वर्षमा बाइस प्रतिशत काम

blog

कविराज घिमिरे

हिले, फागुन २० गते । धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्गको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ। काम सुरु भएको ४८ महिनामा २२ प्रतिशत मात्र काम सम्पन्न भएको हो। पहाडी जिल्ला धनकुटा, पाँचथर, इलाम र सुनसरी, मोरङलाई जोड्न निर्माणाधीन उक्त एक सय किलोमिटर लामो राजमार्ग गत वर्षको माघसम्ममा हस्तान्तरण गर्नुपर्ने थियो तर आयोजनाको चार पटक म्याद थप्दा २२ प्रतिशत मात्र काम सम्पन्न भएको हो। 

एक्जिम बैङ्क भारतको ३२६ करोड सहुलियत ऋण कर्जामा बन्ने उक्त सडक आयोजनाको ठेक्का भारतको एपको इन्फोटेकले पाएको थियो। सडक निर्माणका लागि उक्त एपको कम्पनीले २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा पाएको थियो तर सम्झौता समय सकिएर पटकपटक म्याद थप गर्दा कोरोनाको कारण तथा पेटी ठेकेदार कम्पनीले काम नगर्दा आयोजनाले गति लिन नसकेको आयोजना कन्सल्टेन्सी कम्पनी सिम्याटले जानकारी दिएको छ। 

राजमार्गको मापदण्डमा नौ मिटर सडक र छेउमा एक/एक मिटर ड्रेन गरी ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा शिलान्यास गरी काम सुरु भएको थियो। एक सय किलोमिटर कालोपत्रे सडक निर्माणका लागि एपको इन्फाटेक इन्डियाले गएको मङ्सिर २०८१ सम्ममा काम सक्ने थप म्याद पाएको छ। गत मङ्सिर १६ प्रतिशत मात्र काम भएकामा त्यस यता भने बाँकी छ प्रतिशत काम भएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इन्जिनियर सरद पाण्डेले जानकारी दिनुभयो।

अहिले कम्पनीले पेटी ठेकेदार नलगाई आफैँले काम गरिरहेकोले अब काम दु्रत गतिमा हुने उहाँको भनाइ छ। “यही गतिमा काम भए अब थपिएको समयमै काम पूरा हुन्छ,” पाण्डेले भन्नुभयो। मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले जानकारी दिनुभयो। आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा कोभिड महामारी र जिम्मा दिएको कम्पनीले काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ। बाँकी काम आफ्नै कम्पनीको निगरानीमा हुने भएकोले थप भएको समयमा काम पूरा गर्ने उहाँले बताउनुभयो तर पटकपटक म्याद थप भएकाले अब पनि समयमै काम सकिनेमा स्थानीय भने ढुक्क छैनन्। “घरी काम हुन्छ घरी रोकिन्छ, बने त राम्रै हो तर बन्न धेरै गाह्रो छ,” साँगुरीगढी गाउँपालिका वडा नम्बर पाँचका ध्रुव घिमिरे भन्नुहुन्छ। 

यो मार्गले धनकुटाका भेडेटार, नाम्जे, ओखे्र, डाँडाबजार, राजारानी, सम्मेवा, सौरेबजार हुँदै ६ नम्बर बुधबारेसम्म भेट्छ। ६ नं. बुधबारे हुँदै पाँचथरको कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौँडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुविर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायतका गाउँ छुन्छ। इलामको फुयतप्पा, चमैता, एकतप्पा छुन्छ। राँके–भेडेटार बाटोलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक बनेका छन्। यो सडकले यस क्षेत्रका पर्यटकीय स्थलको प्रवद्र्धनको साथै यहाँ उत्पादन हुने कृषिजन्य वस्तुलाई पूर्वी तराईका बजारसहित छिमेकी देश भारतसम्म पु-याउन सहज हुनेछ। सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य सडक कालोपत्रे भइसकेपछि पर्यटकको आवागमनमा सहज हुने स्थानीयको भनाइ छ।