• १३ असोज २०८१, आइतबार

सहरी क्षेत्रमा जङ्गली जनावरको त्रास

blog

दमक समाचारदाता

दमक, फागुन २० गते । झापामा घना बस्ती तथा सहर बजार क्षेत्रमा समेत वन्यजन्तुको त्रास बढेको छ। दमक र बिर्तामोडमा जङ्गली जनावरको त्रास बढेको पाइएको हो। कतै भारतबाट आउने जङ्गली हात्ती, कतै बँदेल र कतै स्यालको आङ्तक बढेको छ।

दमकको दक्षिणी क्षेत्र वडा नं. १० मा पछिल्लो समयमा बँदेलको आतङ्कले सास्ती भएको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताउनुभएको छ। उहाँका अनुसार बँदेलले लगाएको बालीनाली नष्ट गर्ने गरेको छ। रातको समयमा बँदेल आएर अन्नबाली नष्ट गर्ने गरेको छ, न्यौपानेले भन्नुभयो।

जङ्गली जनवारको जस्तो खुट्टाको छाप देखिएपछि रातको समयमा चियो गर्दा बँदेल आउने गरेको पाइएको पनि उहाँले बताउनुभएको छ। “खेतबारीमा लगाएको सागसब्जी नष्ट हुन थालेपछि चियो गर्दा जङ्गली बँदेल आउने गरेको रहेछ,” उहाँले भन्नुभयो। करिब छ महिनायता यो समस्या देखिएको उहाँले बताउनुभयो।

यता दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क कायमै रहेको छ। दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका हात्ती बस्ती नजिक जङ्गलमा रहेको र साँझपख निस्कने गरेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो। हात्तीबाट जोगिन र सतर्क भएर हिँडडुल गर्न वडावासीलाई अपिल गरेका छौँ, उहाँले भन्नुभयो।

केही दिनअघि एक भुटानी शरणार्थी महिलाको दमकमा नै हात्तीको आक्रमणबाट मृत्यु पनि भएको थियो। हम्सेदुम्से वनबाट एक्कासि निस्केको हात्तीको समूहले ती महिलालाई लछारपछार गरेर मारेको जनाइएको छ। दैनिकजसो स्थानीयको घर भत्काउने र अन्नबाली नष्ट गर्ने गरेको बरालको भनाइ छ।

यसैगरी झापाको बिर्तामोडस्थित चिया बगान आसपासमा पछिल्लो समयमा स्याल देखिन थालेका छन्। रातमा स्याल कराउने र हिँडडुल गर्ने गरेको पाइएको स्थानीयहरू बताउँछन्। चिया बगान क्षेत्रका स्थानीयका अनुसार वर्षौंपछि रातको समयमा स्याल कराएको सुनिन थालेको छ।

स्थानीय अञ्जु चौधरीका अनुसार दिउँसोपख पनि स्याल देखिने गरेको छ। रातको समयमा आजकाल राति स्याल कराउन थालेपछि बालबालिका सुत्न पनि डराउने र दिउँसो चिया बगान आसपास खेल्न जान छाडेका छन्।