• १३ साउन २०८१, आइतबार

राज्यबाट पाउने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो

blog

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना । फाइल तस्बिर

काठमाडौं, फागुन १९ गते। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ। भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो गुनासो गर्नुभएको हो। 

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्नुभएको हो। उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने बताउनुभयो। 

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ छ। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयो। 

उपसभामुख रानाले भन्नुभयो, ‘‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदा थुप्रै सुविधा रहेछन्। जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे। म सानो भुइँमान्छे हो। म सांसद मात्रै हुँदा भिआईपीको सुविधा प्रयोग गर्दिन भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदा चाहिँ आर्मी दिन्थ्यो रे  उहाँहरुलाई मन्त्रीसरह सुविधा हुन्थ्यो। उपसभामुखलाई घर दिने भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नुपरेको छ।’’

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताउनुभयो।