• १३ साउन २०८१, आइतबार

भ्रष्टाचार अन्त्यका लागि राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना। फाइल तस्बिर

काठमाडौं, फागुन १९ गते। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। 

भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरेर कारबाही गर्न दल तयार हुनुपर्ने बताउनुभएको हो। 

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताउनुभयो। भ्रष्टलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन नसकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँको भनाइ छ। 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्ट्रिय सहमति आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं।’’ 

उहाँले त्यो सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले  विमान खरिददेखि जग्गासम्मका भ्रष्टाचारलाई स्वतन्त्र ढंगले छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासनका लागि सहमति आवश्यक भएकोमा जोड दिनुभएको हो। 

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई सशक्त बनाउनुपर्नेमा जाेड दिनुभयो।