चाँदनी आचार्य
घोडाघोडी (कैलाली), फागुन १८ गते । इन्जिनियर सागर ढकालले सुदूरपश्चिम प्रदेश कला र संस्कृतिले देशकै धनी प्रदेश भएको बताउनुभएको छ। बिहीबार कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न पुग्नुभएका ढकालले प्रविधिको विकाससँगै आफ्नो कला संस्कृति हराउँदै गएको बताउँदै कला संस्कृति संरक्षणमा सुदूरपश्चिम प्रदेश देशकै पहिलो नम्बरमा रहेको बताउनुभयो ।
२०७९ को प्रतिनिधि सभा चुनावमा डडेल्धुराबाट आफूले स्वतन्त्ररुपमा चुनाव लड्ने क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका कला संस्कृतिलाई नजिकबाट बुझ्न पाएका ढकालले भौतिक पूर्वाधारका विकासतिर बढी चासोभन्दा पनि संस्कार र संस्कृति जोगाउनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको विकासमा प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा विद्यार्थीले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । स्नातक तहका विद्यार्थी, भरत शाही, विनोद चौधरी, सपना परियार, हेलन बिनाडीलगायतले जिज्ञासा राखेका थिए ।
नेपालमा संस्कार र संस्कृति जोगाउनेमा सुदूरपश्चिम प्रदेश अब्बल रहेको उहाँले चर्चा गर्नुभयो । विदेशको उदाहरण दिँदै उहाँले संस्कार र संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत समेत बनाउन सकिने उहाँले बनाउनुभयो ।
नेपाल प्राकृतिको एसी भएको बताउँदै उहाँले त्यसको सही सदुपयोग हुन नसकेको बताउनुभयो । देशमा दूरदर्शी योजना सरकारले ल्याउन सके देशभित्र उद्योग, पर्यटनका विकास भई रोजगारीको सिर्जना हुने र युवाहरू धेरै विदेश पलायन हुनबाट रोकिने उहाँको भनाइ छ ।
इन्जिनियर ढकाल बिहीबार नै लम्की बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभयो ।