• १३ साउन २०८१, आइतबार

नुवाकोटका किसानलाई आलु खन्ने चटारो

blog

नुवाकोटका कृषकहरु आलु खन्दै । तस्बिर : नवराज सुवेदी

नवराज सुबेदी

नुवाकोट, फागुन १८ गते । आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ । 

जिल्लाको लिखु गाउँपालिकाको ढिकुरे फाँट, पञ्चकन्याका बेसी, बेलकोटगढी जिलिङका टार लगायत विभिन्न ठाउँका किसानहरू अहिले आलु भित्र्याउन व्यस्त छन् । अहिले यी ठाउँमा आलु खन्ने काम चलिरहेको छ । पञ्चकन्याको कबिलास, आप्राह, छबिसे, भद्रटार, चौघडा, आठबिसे फाँटका किसानलाई पनि आलु भित्र्याउन भ्याइनभ्याइ छ । 

नुवाकोटमा सबैभन्दा राम्रो आलु उत्पादन हुने थानसिङ, रातमाटे, आप्रह, बुधसिंहबाट लगायत क्षेत्रका किसान पनि आलु खन्न व्यस्त देखिन्छन् । नुवाकोटमा धानपछिको मुख्य नगदेबालीको रूपमा आलुलाई लिइने गरिएको छ । 

अन्यत्र फलेको आलुभन्दा पहाडका बेसीमा फलेको आलु स्वादिलो र पौष्टिक मानिन्छ । आलुमा प्रोटिन, कार्बोहाइड्रेट, आइरनलगायत तत्त्व पाइन्छ । त्यसैले आलुलाई तरकारीको रूपमा मात्र होइन खानाको रूपमा समेत प्रयोग गर्न सकिन्छ । विगतमा कृषकले उत्पादन गरेको आलु बजारसम्म लग्न कठिन भए पनि अहिले सडकमार्गको पहुँच छ । तर आफूले उत्पादन गरेको आलुले बजारभाउ नपाउँदा किसानहरू चिन्तित छन् । 

मलको अभावका कारण कृषि समूहमार्फत पाउँदै आएको रासायनिक मल व्यापारीहरूले चर्को मूल्यमा किनेका किसानहरू बजारभाउ नपाउँदा मारमा परेका छन् । हामीले धरै दुःख गरेर आलु खेती गर्छौँ तर नाफा जति सबै बिचौलियाले कमाउने गरेको लिखु गाउँपालिका वडा १ ढिकुरेका रामधन ढकालले बताउनुभयो । 

भारतबाट सिधै विषादीयुक्त तरकारीले बजार लिँदा आफूहरू मारमा परेको ढकालले बताउनुभयो । किसानका लागि सक्रिय रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण केन्द्र, कृषि जोन कार्यालयलगायतका कार्यक्रमहरू यस क्षेत्रका किसानका लागि मूकदर्शक मात्र भएको कविलासका अर्का कृषक उपेन्द्र मिश्रले बताउनुभयो ।