• १३ असोज २०८१, आइतबार

पेचिलो बन्दै फोहोर व्यवस्थापन, डम्पिङ साइड प्राथमिकतामा परेन

blog

पथरीशनिश्चरे नगरपालिकाले खुल्ला क्षेत्रमा फालेको फोहोरको ढङगुर । तस्बिर: हरि

हरिप्रसाद कोइराला

उर्लाबारी, फागुन १८ गते । स्थानीय तह गठन भएको छ वर्ष बितिसक्दा पनि पूर्वी मोरङका स्थानीय तहले फोहोर व्यवस्थापनको दिगो समाधानमा चासो देखाएका छैनन् । पछिल्लो समय मोरङ, सुनसरी, झापा लगायतका स्थानीयतहहरुमा फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ । 

फोहोरलाई व्यवस्थापन गर्न हालसम्म डम्पिङ साइडको पहिचान गर्ने कामसम्म गर्न सकेको छैन । जनप्रतिनिधिहरू मुख्य काम भन्दा पनि राजनीतिक कार्यक्रममा मात्र व्यस्त हुने गर्नाले नगरवासीहरू माथि फोहोरको चुनौति थपिएको स्थानीयको आरोप छ । 

मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले अझैसम्म बन क्षेत्रमा फोहोर फाल्दै 

तीव्ररूपमा सहरीकरण हुँदै गएका मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले अझैसम्म बन क्षेत्रमा फोहोर फाल्दै आएको छ भने उर्लाबारी नगरपालिकाले बक्राहा खोला किनारमा फाल्दै आएको छ, यी उदाहारणहरु हुन् । पथरी गाविस छँदै देखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको पथरीशनिश्चरे नगरपालिकामा साबिकका शनिश्चरे र हसन्दह गाविस थपिएपछि फोहोर व्यवस्थापन झनै पेचिलो हुँदै गएको छ । नगरपालिकाले साबिक गाविसले फोहोर डम्पिङ गर्दै आएको बन क्षेत्रमा फोहोर फाल्न थालेको एक दशक पुरा भयो । तर,व्यवस्थित डम्पिङ साइट निर्माण सपना मात्रै बनिरहेको छ । स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले बारम्बार फोहोर फाल्ने वैकल्पिक क्षेत्र खोजी गर्न नगरपालिका लाई पत्राचार गरे पनि नगरपालिकाले डम्पिङ साइड निर्माण गर्ने जग्गा खरिद गर्न सकेको छैन । नगर प्रमुख मोहनप्रसाद तुम्वापो भन्नुहुन्छ–‘यो समस्या समाधानका लागि नगरपालिका गम्भीर छ , जग्गा खोजी भइरहेको छ । उहाँले साझा डम्पिङ साइड निर्माणका लागि  छिमेकी गाउँपालिका र नगरपालिकासँग  छलफल समेत भएको बताउनु भयो । फोहोरको दिगो व्यवस्थापनका लागि सर्वेक्षण गर्ने डम्पिङ साइटका लागि नदी उकास जमिन खोज्ने काम भइरहेको तुम्वापोको भनाई छ ।

नगरपालिका क्षेत्रका ठुला बजारमा पुगेर फोहोर सङ्कलन गर्न चुनौती त छदैछ, त्यो भन्दा बढी चुनौती दक्षिणका नयाँ बजारहरूबाट फोहोर सङ्कलन गरी ट्याक्टरमा हालेर डम्पिङ क्षेत्र सम्म पुर्‍याउन झनै चुनौती भएको छ । नगरको दक्षिणी बजार कीर्तिपुर बजारबाट १२ किमी उत्तरमा डम्पिङ साइड छ । सामान्य त्रिपालले फोहोर छोपेर पुर्‍याउनु पर्ने बाध्यता छ । थोत्रा ट्याक्टरमा हालेको आधाउधि फोहोर बाटो मै छरिन्छ । 

बजारहरूबाट फोहोर सङ्कलन गरी ट्याक्टरमा हालेर डम्पिङ क्षेत्र सम्म पुर्याउन झनै चुनौती 

नगरपालिकाको वातावरण  तथा विपद् व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईका अनुसार दैनिक चार वटा ट्याक्टरले ३-३ पटक फोहोर उठाउने गरेको छ। नगरमा दैनिक ३५ घनमिटर फोहोर सङ्कलन हुने गरेको छ ।  ठुलो भूगोल भएको नगरपालिकामा थोरै जनशक्ति हुँदा फोहोर उठाउन समस्या भएको राईको भनाई छ । राईका अनुसार मुख्य बजारमा दैनिक रूपमा फोहोर सङ्कलन हुने गरेको छ । नगरका सबै प्रमुख चौकमा फोहोर सङ्कलन हुन्छ ।  

नगरका ५ हजार उपभोक्ताले सरसफाइ सेवा लिने गरेका छन् । तर,राजश्व सङ्कलन भने घट्दै गएको छ । ३ वर्ष अघि वार्षिक १६ रुपियाँ सङ्कलन गर्ने नगरले चालु वर्ष १२ लाख मात्रै शुल्क सङ्कलन गर्ने अनुमान गरेको शाखा प्रमुख राईले बताउनु भयो । 

उता,उर्लाबारी नगरको फोहोर निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइएको छ । कम्पनीले सङ्कलन गरेको फोहोर आफ्नै जग्गामा बक्राहा खोला किनारमा डम्पिङ गरेको छ । तर, खोलामा बक्राहा खोलाले कटान गरेपछि फोहोर जति सबै किसानका गरा गरामा पुगेको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको जयश्री पाथीभरा इन्भायरोमेन्ट केयर प्रालिका सञ्चालक नेत्र घिमिरेले भन्नुभयो – वार्षिक ३२ लाख बुझाउने गरी ठेक्का लिएको थिएँ । घाटा लागेर ठेक्का बदर गरी पाउँ भनेर निवेदन दिएँ । नगरपालिकाले पुरा अवधि काम गर्नु भन्यो ।’ दैनिक ८ ट्याक्टर फोहोर निस्किने उर्लाबारीमा फोहोर व्यवस्थापनमा कोही जिम्मेवार नभएको नगरवासीको भनाई छ । 

यता कानेपोखरी गाउँपालिकाले ग्रामीण सुधार सामुदायिक वनले संरक्षण गरेको वन क्षेत्रमा फोहोर फाल्दै आएको छ । सहरीकरण बढेसँगै फोहोर निस्किने क्रम बढेको गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दैनिक २ ट्याक्टर फोहोर गाउँपालिकाले सङ्कलन गरी जङ्गलमा खाल्डो खनी पुर्दै आएको छ । फोहोर सङ्कलन गरे पनि पालिकाले उपभोक्ता सँग शुल्क नलिएको उपाध्यक्ष अधिकारीले बताउनु भयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो, स्थायी डम्पिङ साइटको खोजी भइरहेको छ । सकेसम्म फोहोर व्यवस्थापन घरबाटै गर्न गाउँपालिकाले ‘म फोहोर वर्गीकरण गर्छु, हामी फोहोर व्यवस्थापन गर्छौँ,–कार्यक्रम सञ्चालन गरिरहेको अधिकृत घिमिरेको भनाई छ ।  मुख्य सहरमा बाहेक फोहोर व्यवस्थापन गर्न समस्या नरहेको उहाँको भनाई छ ।   

जङ्गलमा फोहोर फालेर डढाउँदा नजिकै बस्तीमा धुवाँजन्य रोगको प्रकोप बढेको पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङ बताउनु हुन्छ ।  जथाभाबी फोहोर फाल्दा डम्पिङ साइड क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सैलुन र ब्युटीपार्लरको केश,कुखराको प्वाँख भुत्ला,रक्सीका खाली बोतल,स्लाईन पानीका बट्टा र नली,औषधी सफा गर्दाका रुवा,रगत सहितका प्याड,सिसाका टुक्रा देखि इलेकट्रोनिक्स सामान बाँधिएर आएका ‘फम’सबै एकै ठाउँमा फालिएकोले आगोले पनि डढाउन सकेको छैन । सधैँ आगो लगाएर छोड्दा सो क्षेत्रका ५ वटा रुख ढल्ने अवस्थामा पुगेका छन् । सड्ने र नसड्ने फोहोर तथा पुर्न प्रयोग हुने फोहोर समेत नछुटाउँदा झनै समस्या भएको सफाइ कर्मचारीहरू बताउँछन् ।