• ११ वैशाख २०८२, बिहिबार

राजमार्ग दैनिक चार घण्टा बन्द

blog

तनहुँ समाचारदाता 

तनहुँ, फागुन १३ गते । पृथ्वी राजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ। मुग्लिन–पोखरा सडकखण्डको चार लेन सडक विस्तारको कामलाई तीव्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

उक्त सडकखण्ड फागनु ११ देखि २७ सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो। निर्माण छिटोछरितो गर्न मुग्लिन–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा रोकी काम गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो। 

यस खण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको हो। यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातको समय छनोट गरिएको हो।

प्रजिअ रिजालले भन्नुभयो, “दिनमा धेरै यात्रु यात्रा गर्ने भएकाले रातमा बन्द गर्ने निर्णय गरेका हौँ।” आँबुखैरेनी गाउँपालिका–४, डम्पिङमा गत वर्ष बर्सातको समयमा पहिरो गई सडक क्षति भएको स्थानमा मर्मत सुधारको काम भइरहेको छ। 

सो ठाउँमा हालसम्म एकतर्फी मात्र सडक सुचारु भएकाले यस वर्षको मनसुन सुरु हुनुअघि नै मर्मत सुधार गरी भरपर्दो व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय दमौलीलाई अनुरोध गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार राजमार्ग विस्तारका क्रममा धुलो उडेर सवारीसाधन सञ्चालन गर्न असहज हुने हुँदा दुवै सडकका योजनाले आवश्यकताअनुसार सडकमा पानी हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सडक विस्तारका क्रममा ठूलो मात्रामा भित्तो काट्ने (बल्क कटिङ) को काम गर्नुपर्ने भएकाले यस वर्षको मनसुन सुरु हुनुअघि नै कार्य सम्पन्न गर्ने गरी सडक आयोजनाहरूलाई आवश्यक बन्दोबस्त मिलाउन अनुरोध गरिएको छ। 

चिनियाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरू पुर्ने कार्य गरिरहेको छ। चाइना एन्ड कम्युनिकेसनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ। 

आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो बनाइँदै छ। मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण भइरहेको छ। सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ।