• १३ असोज २०८१, आइतबार

बहिनी पाथीभरालाई व्यवस्थित गरिँदै

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), फागुन १३ गते । इलामको रोङ गाउँपालिकाको हाँसपोखरी–कुटीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरलाई थप व्यवस्थित गरिने भएको छ। मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा  ल्याएपछि गाउँपालिकाले पाथीभरालाई व्यवस्थित गर्ने विभिन्न कामको थालनी गरेको हो।

गाउँपालिका मातहतमा समिति निर्माण भएपछि संरक्षणको जिम्मा नयाँ समितिलाई दिइएको छ। पालिकाले मन्दिरको सडकलगायतका पूर्वाधार विकासका कामसमेत थाल्ने भएको छ। पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा नयाँ समितिलाई जिम्मा दिएको छ। पाथीभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको एक हप्तापछि गाउँपालिकाले नयाँ समितिलाई औपचारिक रूपमै व्यवस्थापनसहित संरक्षणको जिम्मा दिएको हो।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले दिलीप राईको अध्यक्षतामा गाउँपालिकाले बनाएको समितिले मन्दिरको सबै काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिनुभयो। एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी लामो समयपछि गाउँपालिकाको स्वामित्वमा मन्दिरलाई ल्याइएको थियो। गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँ सभाबाट माघ ११ गते पारित गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने प्रावधानसहित उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ। 

दिलीप राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैर सरकारी संस्था,  चन्दा दाता, शिक्षक र प्रत्येक वडाबाट एक/एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ। अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिक स्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने भएकाले मन्दिरको सञ्चालन गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको बताउनुभयो। गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो “बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोड रुपियाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाले लिएका छौँ।” उहाँले भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपयोग नहुने बताउँदै त्यसका लागि मन्दिरलाई प्रविधिमैत्री बनाउने बताउनुभयो। नव नियुक्त अध्यक्ष दिलीप राईले पारदर्शी भएर काम गर्ने बताउँदै पाथीभराको हिसाब दैनिक रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो।  

संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएको पाथीभरा मन्दिर क्षेत्र विकास कोष समितिले मन्दिर सञ्चालन गर्दै आएको थियो। संस्थाले स्थानीय सरकारसँग कुनै समन्वय नगरी काम गरिरहेको थियो। स्थानीयले पारदर्शी तवरले पुरानो हिसाब सार्वजनिक गर्न माग गर्दै आएका छन्। स्थानीय योगेश चाम्लिङले पुरानो समितिले तत्काल हिसाब सार्वजनिक गर्नुपर्ने बताउनुभयो। बहिनी पाथीभरा नामले चिनिने पाथीभरा मन्दिरको स्थापना २०५१ सालमा भएको थियो। विभिन्न मनोकाङ्क्षा पूरा हुने अपेक्षा राखेर भक्तजन पाथीभरा मन्दिर आउने गरेको पाइन्छ।