• १३ साउन २०८१, आइतबार

कलाश्री सम्मान प्रदान

blog

काठमाडौँ फागुन १२ गते । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले साहित्य, ललितकला, सङ्गीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । 

प्रतिष्ठानद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार बैरागी काइँलाले विगत पाँच दशकदेखि नेपाली चित्रकलाको क्षेत्रमा विशेष योगदान पु-याउनुभएका नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका कलाकार किरण मानन्धरलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा  समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई एक लाख रुपियाँसहित राष्ट्रिय कलाश्री पुरस्कार, साहित्यकार भूपिन खड्कालाई ७५ हजार रुपियाँसहित स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ । 

यसैगरी विगत चार दशकदेखि नेपालका हिमाली शृङ्खलाको तस्बिर खिचेर पर्वतीय पर्यटन तथा सम्पदाको प्रवद्र्धनका लागि योगदान पु-याउनुभएका जगदीश तिवारीलाई थिरछाया कलाश्री ललितकला पुरस्कार ६० हजार नगदसहित प्रदान गरिएको छ । कार्यक्रममा डा. टङ्क उप्रेतीलाई बद्री राष्ट्रिय  कलाश्री पत्रकारिता पुरस्कार ५० हजार नगदसहित र गायिका मेलिना राईलाई पद्मनेत्र राष्ट्रिय सङ्गीत पुरस्कार ५० हजार रुपियाँसहित प्रदान गरिएको छ । 

कार्यक्रममा समालोचक महेश पौडेलले सम्मानित एवं पुरस्कार प्राप्त व्यक्तित्वहरूको चर्चा गर्दै नेपाली कला, साहित्य, सङ्गीत तथा पत्रकारिताको माध्यमबाट उहाँहरूले विगत लामो समयदेखि निरन्तर पु-याउनुभएको योगदानलाई कदर गर्ने अवसर मिलेको बताउनुभयो । राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित कलाकार किरण मानन्धरले कलाको माध्यमबाट देशका लागि आफूले गर्नुपर्ने काम अझै धेरै रहेको र प्रतिष्ठानले सम्मान गरेर मेहनत गर्न थप हौसला प्रदान गरेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार प्राप्त गर्नुहुने प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यसँगै अर्थशास्त्र, सङ्गीत, विज्ञानलगायत सबै क्षेत्रको विशेष सम्बन्ध रहने भएकाले सो प्रतिष्ठानले सबै क्षेत्र जोड्ने गरी सम्मान तथा पुरस्कार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।