• १३ असोज २०८१, आइतबार

सबै सामान सडकमै

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, फागुन ११ गते । साना गाडीमा माइक राखेर सामानको प्रचार गर्दै बिक्री गर्ने व्यापारीले गर्दा हजारौँ रुपियाँ घर भाडा तिरेर व्यापार गर्ने व्यापारीको पेसा अप्ठ्यारोमा पर्दै गएको छ।  

तरकारी होस् वा फलफूल, भाडा बर्तन होस् वा लुगा कपडा घर आँगनमै पाइन थालेको छ। दैनिक उपभोग्य सामानदेखि फूलका बिरुवा, गमला र पानी छान्ने फिल्टरसमेत घरघरमा पु-याएर बिक्री गर्न थालेपछि घर भाडा तिरेर व्यापार गरिरहेका व्यापारी चिन्तित भएका छन्। आवश्यक सामान घरमै पुगेपछि उपभोक्ताहरू बजारसम्म पुग्दैनन्। 

पछिल्लो समय साना गाडीमा माछा, अण्डा पार्न छोडेका लेयर्स कुखुरा, स्याउ, तरकारी, साबुन, सरफ, कपडा, प्लास्टिकका झोला, आयुर्वेदिक औषधि, तन्ना, डसना, झुल, सिरानीका खोल, प्लास्टिकका कुर्सीलगायतका सामग्री सडकमै बिक्री हुन थालेका छन्। 

मोरङका गाउँगाउँमा व्यापारीले रेकर्डिङ गरिएको विज्ञापन एकनासले ठूलो आवाजमा बजाएर ग्राहक आकर्षित गर्ने गरेका छन्। १०/१५ मिनेटसम्म सडक किनारमा एकनासले विज्ञापन बजाएर ग्राहक बोलाउने अनि व्यापार गर्ने र केही समयपछि चोक बदल्ने गरेका छन्। 

एउटै सहरका चोकचोकमा लगेर दैनिक आवश्यकताका सामान बेचिदिएपछि  व्यापारीहरू थला परेको उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयो । नगरका ग्रामीण क्षेत्रका तरकारी व्यापारी झनै मारमा परेका छन्। उहाँले भन्नुभयो, “डोकोमा तरकारी बोकेर ल्याउनेहरू एक मुठा तरकारी नबेची घर फर्कन बाध्य छन्।”

मासिक १५ हजार रुपियाँ घरभाडा तिरेर व्यापार गर्नेहरू घरभाडा तिर्न नसक्ने भएका छन्। उहाँले सडक व्यापारीहरू न करको दायरामा आएका छन् न सम्बन्धित निकायबाट व्यापारको स्वीकृति लिएका छन्। यता घर बहाल कर, व्यावसाय कर, तिरेर व्यापार गर्नेहरू सडक व्यापार हेरेर बस्न बाध्यछन्। 

अध्यक्ष भण्डारीले गाउँ, सहरमा व्यापार गर्नेलाई स्थानीय गाउँ/नगरपालिकाले रोक नलगाए वाणिज्य सङ्घ आन्दोलनमा उत्रनसक्ने बताउनुभयो। 

माछा–माछा भन्दै एउटा गाडी आउँछ, एकछिन बिक्री गरेर हिँडे लगत्तै स्याउ, कागती भन्दै अर्को गाडी आउँछ। तरकारी, फलफूलदेखि प्लास्टिकका कुर्सीसमेत सडकमै बिक्री हुन थालेपछि स्थानीय व्यापारी उठ्न नसक्ने गरी थला परेको पथरीका भाडा व्यापारी खगेन्द्र भट्टराईले बताउनुभयो। 

सहरमा मात्र होइन, गाउँगाउँमा विज्ञापन गर्दै गाडी लिएर हिँड्नेले गाउँको व्यापारमा समेत असर पार्न थालेका छन्। भारतबाट भन्सार छलेर क्यारियर मार्फत ल्याइएका सामान गुणस्तरहीन हुने उर्लाबारीका कपडा व्यापारी हेमराज अग्रवालले बताउनुभयो। 

मेसिनरी सामान, रड, सिमेन्ट र सुनचाँदीका गहनाबाहेक सबै समान सडकमै बिक्री हुन थालेको कानेपोखरीका फलफूल व्यापारी खगेश्वर भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, “कि सबैलाई करको दायरामा ल्याउनुप-यो, होइन भने दिनरात नभनी सडकमा हुने व्यापार बन्द हुनुप-यो।’’