• १३ साउन २०८१, आइतबार

उद्योगमा छ घण्टा ‘लाइट लोड’

blog

नवराज कट्टेल

विराटनगर, फागुन ९ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो । 

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोडसेडिङ गर्नुपर्ने स्थिति नभए पनि ठूला उद्योगमा ‘लाइट लोड’ गरिएको छ । बिहान र साँझ उद्योगलाई दुई घण्टा ‘लाइट लोड’मा रहन भनिएको खड्काले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण दुहबी शाखाका प्रबन्धक राजेश रेग्मीले भारतको कटौयाबाट आइरहेको ११५ मेघावाट विद्युत् तीन महिनायता अवरोध हुने गरेको जानकारी दिनुभयो । यसैका कारण पूर्वका उद्योगमा विद्युत् आपूर्ति समस्या समाधान हुन नसकिरहेको रेग्मीको दाबी छ । कटैया प्रसारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चैया प्रसारण लाइनबाट दुई सय मेगावाट विद्युत् पूर्व आइरहेको छ । 

यसैबाट लहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसीपूर्व ११५ मेगावाट विद्युत् आउने गरे पनि काबेली जलविद्युत् आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।

भारतको कटैयाबाट आपूर्ति हुने विद्युत् तीन महिनायता अवरोध भएपछि कोरिडोरका ठूला उद्योगलाई समस्या परेको छ । उद्योगीले अघोषित लोडसेडिङ हुँदै आएकाले उत्पादनमा समस्या भइरहेको गुनासो गरेका छन् ।

विद्युत् आपूर्तिमा समस्या हुँदा त्यसको मार प्लास्टिक, स्टिल र सिमेन्ट उद्योगमा धेरै पर्ने गरेको छ । कोरिडोरमा यी तीन प्रकारका उद्योगले धेरै विद्युत् खपत गर्ने गरेका छन् । कच्चा प्रशोधनका क्रममा विद्युत् आपूर्ति अकस्मात् रोकिए घानीको वस्तु स्क्रापमा परिणत हुने दाबी छ । 

लोटस इन्डस्ट्रिजका सञ्चालक एवं उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले विद्युत् अवरोधको कुनै निश्चित समय नहुँदा मार खेप्नु परेको गुनासो गर्नुभयो । 

प्राधिकरणले विद्युत् अवरोधको सेड्युल नदिएका कारण चल्दाचल्दै गरेका मेसिन रोकिने अवस्था आएको उद्योगी राठीको भनाइ छ । राठीले विद्युत् नियमित हुन नसक्ने स्थिति देखिए उत्पादन कटौतीको अवस्थामा जानुपर्ने बताउनुभयो । अहिले विद्युत् नआउने क्रम बढेपछि प्लास्टिकजन्य कच्चा पदार्थ घानीमा लगाउनुअघि प्राधिकरणसँग बुझ्नुपर्ने स्थिति आएको राठीको दाबी छ । 

प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले दैनिक बिहान र बेलुका छ घण्टासम्म विद्युत् अवरोध खेप्नु परेको गुनासो गर्नुभयो तर प्राधिकरणले भने समय तालिकाअनुसारको आपूर्ति प्रणालीमा अवरोध नभएको दाबी गरेको छ । मेन्टिङमा आधारित स्टिल उद्योगलाई कच्चा पदार्थ प्रशोधनमा समस्या भइरहेको गुनासो छ । कोरिडोरका प्रिमियर, पशुपति र स्वस्तिक उद्योग मेल्टिङमा आधारित छन् । 

प्राधिकरणले समय निश्चित गरेर विद्युत् कटौती गर्नुपर्ने माग उद्योगीको छ । निश्चित समय तालिका दिए त्यसले उद्योगका उत्पादनदेखि व्यवस्थापनसम्मलाई सहज बनाउने धारणा उद्योगीको छ ।