• १३ असोज २०८१, आइतबार

वर्षौँदेखि निमित्तको भरमा स्थानीय तह

blog

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन ९ गते । ताप्लेजुङका केही स्थानीय तह वर्षौंदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख)को भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका नौमध्ये हाल तीनवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको छ ।   

शाखा अधिकृतको दरबन्दी रहेको स्थानीय तहमा हाल सबइन्जिनियर, स्वास्थ्य र शिक्षा शाखामा कार्यरत कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । भारतको सिक्किमसँग सीमा जोडिएको जिल्लाको सिदिङ्वा गाउँपालिका एक वर्षभन्दा बढी समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ । 

सिदिङ्वा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूको सरुवा भएपछि सबइन्जिनियर पदमा कार्यरत रुद्रप्रसाद बेघाले निमित्तको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । 

मैवाखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद तुम्बापो र मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युनिल राईको अन्यत्र सरुवा भएपछि निमित्तको भरमा कार्यालय सञ्चालित छन् । मैवाखोला गाउँपालिकामा शिक्षा शाखाकी प्रमुख लक्ष्मीमाया गोम्देन र मिक्वाखोला गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख ललितनारायण यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । गत साउन महिनादेखि गोम्देन र यादवले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी बहन गरिरहनुभएको हो ।   

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रूपमा जिम्मेवारी बहन गर्दै सभा तथा कार्यपालिकाको सचिवको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यस्तै स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोबार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको संरक्षण बेरुजु फस्र्योटलगायतका काम गर्नुपर्ने कानुनी प्रावधान छ । 

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा सोचजस्तो सेवा प्रवाह नहुने गरेको बताइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा कार्यालय सञ्चालन हुँदा स्थानीय सरकारले प्रदान गर्ने सेवा, सुविधा तथा गुणस्तरमा समेत प्रभाव परिरहेको स्थानीयको भनाइ छ । विषयगत शाखा प्रमुखले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दा सम्बन्धित शाखाको काम भ्याइनभ्याइ हुने गरेको र गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो छ । 

स्थानीय तहको कामलाई प्रभावकारी बनाउन समयमै प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने भए पनि लामो समयसम्म पदपूर्ति नहुँदा बेथिति मौलाउने खतरा रहेको पनि स्थानीय बताउँछन् । जनप्रतिनिधिको दबाबमा काम गर्नुपर्दा कुनै समय असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था रहेको पनि केही कर्मचारीको भनाइ छ । 

यता सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिकेर बस्न नसक्ने गरेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृतले कामभन्दा पनि नीति नियम कार्यान्वयनमा बढी जोड गर्ने र जनप्रतिनिधिले कामलाई जोड दिने हुँदा केही बेमेलजस्तो अवस्था रहेको एक जनप्रतिनिधि बताउनुहुन्छ । सकेसम्म आफ्नो पहुँचमा रहेर काम गर्ने खालको प्रमुख प्रशासकीय अधिकृत ल्याउने चाहना जनप्रतिनिधिको रहने गरेको पाइएको छ ।