• ६ जेठ २०८१, आइतबार

माओवादी केन्द्रको बैठक

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

blog

आज सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी पार्टी अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू । तस्बिर : अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ८ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो, “आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । बैठकमा एउटा मात्रै एजेण्डा थियो, त्यो भनेको आगामी राष्ट्रपति चुनावका सन्दर्भमा के गर्ने भन्ने थियो । त्यो विषयमा अध्यक्ष कमरेड प्रचण्डले समग्र परिस्थितिको विश्लेषण गरेर सुनाउनुभयो ।”

“हामी यो वा त्यो व्यक्तिमा गएनौं । कुनै व्यक्तिको विषयमा छलफल नै गरेनौं ।”

बैठकमा पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय भएको उहाँले बताउनुभयो । “हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर आगामी राष्ट्रपति चुनावका निमित्त राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेका छौं । हाम्रो स्वार्थ भनेको गणतन्त्रको रक्षा, संविधान, शान्ति प्रक्रिया टुङ्ग्याउने रहेको उहाँले प्रष्ट पार्नुभयो । तीन मुख्य स्वार्थमा राष्ट्रिय सहमति खोजी गर्ने नै हाम्रो नीति हुनुपर्छ भन्ने भयो” उहाँले बताउनुभयो । 

यसैगरी, राष्ट्रपतिमा कुन व्यक्तिको चर्चा भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी यो वा त्यो व्यक्तिमा गएनौं । कुनै व्यक्तिको विषयमा छलफल नै गरेनौं ।”

“त्यसबारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिइयो । अरु पार्टीका नेताहरुसँग पनि परामर्श गरेर उहाँले सो विषयमा सहमति गर्नुहुनेछ” पार्टीका उपाध्यक्ष समेत रहनुभएका नेता महराले बताउनुभयो ।