• १३ असोज २०८१, आइतबार

पाथीभरा मन्दिर व्यवस्थापनमा नयाँ समिति

blog

पाथीभरा मन्दिरको बिकासमा सहयोग गर्न माग गर्दै उपप्रधानमन्त्री लिङदेनलाई ज्ञापनपत्र बुझाउदै रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङस्बो । तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), फागुन ८ गते । इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमाको संरक्षण र प्रवर्धनको जिम्मा नयाँ समितिलाई दिइएको छ ।

एक औपचारिक कार्यक्रम गरी व्यवस्थापनको जिम्मेवारी नयाँ समितिलाई दिइएको हो ।  पाथीभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको एक सातापछि गाउँपालिकाले नयाँ समितिलाई मन्दिर परिसरमा गरेको औपचारीक कार्यक्रममार्फत व्यवस्थापनसहित संरक्षणको जिम्मा दिइएको हो ।

उपप्रधानमन्त्री, जलस्रोत सिँचाई तथा उर्जामन्त्री राजेन्द्र लिङदेनको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले दिलीप राईको अध्यक्षतामा गाउँपालिकाले बनाएको समितिले सोमबारबाटै मन्दिरको सबै काम गर्नेगरी जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकामा रहनेगरी लामो समयपछि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । 

गाउँपालिका पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको छ । 

प्रत्येक वडाबाट १ जना गरी १९ सदस्यीय समिति समेत निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको छ । मन्त्री लिङ्देनले बहिनी पाथीभरा क्षेत्रको विकासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, ‘बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर १ करोड बढी आम्दानी गाउँपालिकाले गर्ने लक्ष्य लिएको छ ।” भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपायेग नहुने उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले धार्मिक क्षेत्रको विकास गर्न स्थानीय पालिकाले बढी ध्यान दिनुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले पाथीभरालाई गाउँपालिकाको स्वामित्वमा ल्याउँदा गाउँपालिकाको आम्दानी बढ्ने बताउनुभयो । नवनियुक्त अध्यक्ष दिलीप राईले पारदर्शी भएर काम गर्ने बताउँदै पाथीभराको हिसाब दैनिक रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो ।