• १३ असोज २०८१, आइतबार

वडाध्यक्ष भलिबल कप उपाधि फुरुम्बुलाई

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा सम्पन्न वडाध्यक्ष भलिबल कपको उपाधि फुङ्लिङ नगरपालिका –१० फुरुम्बुले जितेको छ । फुङ्लिङ नगरपालिकाकै वडा ८ दोखुलाई ३–१ को सेटमा पराजित गर्दै फुरुम्बुले उपाधि जितेको हो ।

आइतबार भएको फाइनल खेलमा दोखुमाथि फुरुम्बुले २५–२१, २५–१६ र २५–२१ को जित हासिल गरेको थियो । यस्तै, दोखुले भने सान्त्वना स्वरूप फुरुम्बुमाथि ३२–३० को अन्तरमा एकसेट जितेको थियो । 

प्रतियोगिताको उपाधि जितेसँगै फुरुम्बुले ७० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको दोखुले नगद ४० हजार रुपियाँमा चित्त बुझाएको छ ।  अन्तर वडास्तरीय वडाध्यक्ष भलिबल कप प्रतियोगिता ग्याल्पो ल्होसारको अवसर पारेर हिमाली तोक्पेगोला यूथ क्लब मिक्वाखोला गाउँपालिका –५ पापुङले आयोजना गरेको हो ।

प्रतियोगिताको प्रायोजन भने वडा कार्यालयले गरेको थियो । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा विभिन्न ११ वटा वडाले सहभागिता जनाएका थिए । 

प्रतियोगिताका विजेतालाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो । खेल स्थानीय राजेश्वरी आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको आयोजक क्लबका अध्यक्ष दावानुपु शेर्पाले जानकारी दिनुभयो ।