• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन : अर्थमन्त्री पौडेल

blog

नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल धनगढीमा आयोजित एमाले कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

प्रकाशविक्रम शाह

धनगढी, फागुन ५ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पूरै समय टिक्ने बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट अभिमुखीकरण कार्यक्रमलाई आज शुक्रबार यहाँ सम्वोधन गर्न धनगढी पुग्नुभएका मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति र उपराष्ट्रपति लगायत सबै पदमा पूर्वसहमति अनुसार नै कार्यान्वयन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । “नेपाली राजनीतिमा हल्ला एकातिर हुन्छ, घटना अर्कोतिर अगाडि बढ्छ, यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन” उहाँले भन्नुभयो । पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्ने उहाँको दाबी छ । उपप्रधानमन्त्री पौडेलले राष्ट्रका सबै दलहरु मिल्नुपर्ने ठाउँमा मिलेर जाने कुरालाई नकारात्मक रूपमा लिन नहुने पनि बताउनुभयो ।


यसैबीच राससका अनुसार सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनर्गठन गर्ने उद्देश्यसाथ मिसन ग्रासरुट अभियान सुरु गरिएको मन्त्री पौडेलले बताउनुभयो । वर्तमान सत्ता साझेदार दलबीचको सहमति अनुसार एमालेबाट नै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताउनुभयो । 

एमाले प्रदेश अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, विन्दा पाण्डे, पोलिटव्यूरो सदस्य गणेश ठगुन्ना, राजेन्द्रसिंह रावल, नारदमुनि राना, निरुदेवी पाललगायतको सहभागिता थियो ।