• १३ साउन २०८१, आइतबार

तातोपानी नाकामा चीन–नेपालका अधिकारीबीच बैठक

blog

तातोपानी नाका । तस्बिर: गाेरखापत्र

चित्र मिजार
सिन्धुपाल्चोक, फागुन ५ गते । तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो । 

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चीन सरकारका तर्फबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुन, बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ, सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्धय डान डुओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी झुनझुल लगायत सहभागी रहेको प्रजिअ न्यौपानेले बताउनु भयो । नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बाल नरसिंह राणा, अध्यागमन कार्यालयका प्रतिनिधि लगायतका अधिकारीहरू बैठकमा सहभागी थिए ।

नेपाल र चीनको सीमा मितेरी पुलमा भएको बैठकमा चिनियाँ अधिकारीहरूले पूर्ववत् अवस्थामा नाका सञ्चालन हुनु पूर्व नाका क्षेत्रमा ‘क्रस बोर्डर क्राइम’ बारे पर्याप्त छलफल हुनुपर्नेमा जोड दिएको प्रजिअ न्यौपानेले जानकारी दिनु भयो । सिन्धुपाल्चोकका अधिकारीहरूले पनि उक्त विषयमा जोड दिएको उहाँले बताउनु भयो । बैठकमा चिनियाँ अधिकारीहरूले नाकालाई पूर्ववत् अवस्थाका जस्तै सञ्चालनका लागि के गर्न सकिन्छ भनेर सुझाव मागेका थिए । निकासी बस्तुको चेकजाँच गर्न खासाका रमिते बजारमा निकासी घर निर्माणाधीन रहेको पनि चिनियाँ अधिकारीले बताएका सिडिओ न्यौपानेले बताउनु भयो । नाका पूर्ववत् रूपमा कहिलेबाट खुल्छ भन्ने मिति तोकिएको छैन । 

२०७२ वैशाख १२ गतेपछि तातोपानी नाका पूर्ण रूपमा बन्द थियो । २०७६ जेठ १५ गते चीनले एकतर्फी रूपमा आंशिक नाका सुचारु गरेको थियो । सोही वर्षको चैत ११ गते कोरोना महामारीका कारण लकडाउनका कारण नाका पूर्ण रूपमा बन्द भएको थियो । २०७७ सालमा चीन र नेपालका उच्च अधिकारीहरूले मितेरी पुलमा पाँच मिटर दुरीमा रहेर भौतिक बैठक गरेका थिए । त्यसपछि वि च्याटमार्फत भर्चुअल बैठक हुँदै आइरहेको थियो । हाल तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा रहेको छ ।