• ८ पुस २०८१, सोमबार

‘कर्णालीको मुख्य शत्रु गरिबी’

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, फागुन ४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य शत्रु गरिबी भएकाले यसको न्यूनीकरणका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ।

मुख्यमन्त्री शर्माले कर्णालीका विकट भू–भागलाई सडक पहुँच मार्गले जोडेर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमद्वारा बुधबार मुसीकोटमा आयोजित पत्रकार सम्मेलनमा कर्णालीलाई बेरोजगारमुक्त प्रदेश बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले पदभार ग्रहण गर्नेक्रममा एक वर्षमा १० हजारलाई रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेको स्मरण गर्दै रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “विकटलाई निकट बनाउन प्रदेश सरकारले बर्दियाको भुरीगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको छ।”

उहाँका अनुसार कर्णाली करिडोर र भेरी करिडोरलाई डोल्पाको धोसम्म पु-याउने, मध्यपहाडी लोकमार्गलाई सुरुङबाट जुम्ला पु-याउने, राप्ती राजमार्गलाई रुकुमपश्चिमको छरेबगरसम्म विस्तार गर्ने र लुम्बिनीदेखि रारा जोड्ने योजनालाई प्राथमिकता दिने योजना प्रदेश सरकारको छ। 

मुख्यमन्त्री शर्माले कर्णालीमा वित्तीय र प्रशासनिक सङ्घीयता अझै नआएको बताउनुभयो। मानव सूचकाङ्कमा पछाडि परेको कर्णालीलाई उठाउन सङ्घीयता व्यवहारमै लागू हुनुपर्ने उहाँको जोड थियो। उहाँले साधन–स्रोतका आधारमा कर्णाली सम्पन्न भए पनि त्यसको परिचालन सही रूपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको बताउनुभयो।

जल, जमिन, खानी, पर्यटन, धार्मिक सम्पदाको उच्चतम प्रयोग गर्न सकिनेतर्फ पनि आफ्नो ध्यान केन्द्रित गर्ने उहाँको भनाइ छ। प्रविधिमैत्री शिक्षा, कृषिमा व्यवसायीकरण, वडास्तरसम्मै सहज र गुणस्तरीय स्वास्थ्य सेवा, थप मेडिकल कलेज स्थापना जरुरी रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो। उहाँले कर्णालीको समग्र विकासका लागि कार्यदलले अध्ययन गरिरहेको बताउनुभयो।

उहाँले प्रदेशलाई सङ्घको इकाइका रूपमा हेर्दासम्म देखिनेगरी विकासको अनुभूति दिलाउन नसकिने चर्चा गर्दै प्रदेश सरकारलाई पूर्ण रूपमा अधिकारसम्पन्न बनाएर काम गर्न दिनुपर्ने बताउनुभयो।