• १ जेठ २०८२, बुधबार

मिथिला माध्यमिकी परिक्रमाको तयारी

blog

विजयकुमार साह 

ढल्केबर, फागुन ४ गते । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ। प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरधामबाट सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु गरिएको हो। 

धनुषाको मिथिला विहारी नगरपालिका–८, कचुरीस्थित ऐतिहासिक महत्त्वको मिथिला विहारी मन्दिरबाट औँसी तिथिका दिन फागुन ८ गते डोला उठ्ने मिथिला विहारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय झाले बताउनुभयो। मिथिला विहारी मन्दिर पाँच सय वर्ष पुरानो रहेको जनविश्वास छ। यस मन्दिरबाट भगवान् रामको डोला उठ्ने परम्परा निकै पुरानो छ। 

यहाँबाट झाँकी कीर्तनसहितको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर लैजाने र त्यहाँ जानकीको डोलालगायत जनकपुरधामका अन्य मठमन्दिरबाट ल्याइएका डोला समावेश गरी माध्यमिकी परिक्रमा यात्रा प्रारम्भ हुने अध्यक्ष झाले जानकारी दिनुभयो। 

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक माध्यमिक परिक्रमा नेपालमा ११ र भारतको विहार राज्यमा चार स्थानमा विश्राम स्थल छन्। ती विश्राम स्थललाई अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन छ। माध्यमिकी परिक्रमामा सहयोग गर्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक पनि विशेष तयारी थालेको छ। परिषद्का प्रमुख कार्यकारी निर्देशक शीतल साहले डोलालाई व्यवस्थित गर्न मङ्गलबार धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरीप्रमुख, वनप्रमुख, डोला विश्राम स्थलमा पर्ने पालिका प्रमुखलगायत सरोकारवाला निकायलाई भेला गरेर छलफल गरिएको बताउनुभयो। 

उहाँले एसियाकै सबैभन्दा ठूलो धार्मिक यात्रा मानिने माध्यमिकी परिक्रमा विशेष बनाउन डोला उद्घाटनमा नेपाली सेनाको पञ्चेबाजा र प्रहरीले सलामी दिने जानकारी दिनुभयो। विश्राम स्थलमा सम्बन्धित स्थानीय तहले नै भोजनालय, स्वास्थ्य शिविर, बिजुली बत्ती, अस्थायी शौचालयलगायत सम्पूर्ण व्यवस्थापन गरिनेछ। यस पटक पाँच लाखभन्दा बढी भक्तजन परिक्रममा सहभागी हुने अनुमान गरिएको निर्देशक साहले बताउनुभयो। 

बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ। डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखाैँ नरनारी सहभागी हुने गर्दछन्। लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गरिन्छ। १५ दिने माध्यमिकी परिक्रमलाई मध्यमा परिक्रमा भनिन्छ।

परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छन्। नगरको पाँच कोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुन्छ। यो परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटन स्थलका रूपमा प्रसिद्ध गराउन सहयोग गरेको छ।