• १३ साउन २०८१, आइतबार

भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु

नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : मन्त्री चौधरी

blog

भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनीको उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन ३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । 


नेपाल छाला जुत्ता उत्पादक सङ्घद्वारा बुधबारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु गरेको हो । मन्त्री चौधरीले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी यही फागुन ९ गतेसम्म चल्नेछ ।

उहाँले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबात तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गर्नुभयो । मन्त्री चौधरीले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताउनुभयो । उहाँले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने  धारणा व्यक्त गर्नुभयो ।


प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको सङ्घले जानकारी दिएको छ ।

प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य सङ्घको रहेको छ ।


मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरूको प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ ।