• ९ मंसिर २०८१, आइतबार

पीर फेर्ने मेलाका लागि सिँगारियो सिद्धरत्ननाथ मठ (फोटो फिचर)

blog

घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन ३ गते ।
दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) सिँगारिएको छ । बिहीबारबाट लाग्ने पीर फिर्ने मेलाका लागि सिद्धरत्ननाथ मन्दिर सिँगारिएको हो ।

हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पीर)फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्दछ । पिरफिरे मेलाका लागि अवसरमा मण्डव तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।  


मठाधीशलाई मठको प्रमुखका रुपमा मान्ने प्रचलन रहेको छ । मठाधीश भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुन पाउने व्यवस्था छ । मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हीरानाथ योगीले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार मठाधीश चयनका लागि मठका सञ्चालकहरु, योगीहरु र भद्रभलादमीले दलिचा बैठक गरी चुन्ने परम्परा छ । विक्रम संवत् ८०९ सालदेखि नै पीर स्थापना र मेलाको आयोजना हुँदै आएको उहाँले बताउनुभयो । दाङका तत्कालीन थारु राजा रत्न पारखुको पालादेखि यो मठाधीश राख्ने र मेला लाग्ने प्रचलन चलिआएको विश्वास छ । 

मणि पारखुका छोरा दाङका थारु राजा रत्न पारखुले गोरक्षनाथबाट सिद्धि प्राप्त गरेपछि राज्यत्याग गरेर हिँड्नुभएको र गोरक्षनाथले उहाँलाई पात्र दिएपछि पात्रसहित विश्व भ्रमणमा लाग्नुभयो । उहाँ भ्रमणका क्रममा मक्कामदिना पुग्नुभयो । त्यहाँ धार्मिक हिंसा भड्किरहेको समयमा उहाँले सबै धर्मको समन्वय गराइदिनुभएको र त्यसपछि मुस्लिम धर्मगुरुले उहाँलाई आध्यात्मिक गुरु अरबी भाषामा ‘पीर’को उपाधि दिएको विश्वास गरिन्छ ।


मठाधीशका लागि योगी भेट्टाउनै गाह्रो
मठमा प्रत्येक वर्ष परिवर्तन हुने मठाधीशका लागि इच्छा गरेका योगीले कुनै समय बहुमत जुटाउनुपर्थ्याे । मठाधीशका लागि चौघेरा मन्दिरसहित, सल्यान, रोल्पा र प्युठानलगायतका विभिन्न स्थानबाट योगीहरु चौघेरा आउने गर्दथे । तर पछिल्लो समय मठको मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी (जोगी) भेट्टाउनै समस्या हुने गरेको मठ व्यवस्थापन समितिका सदस्यसचिव हीरानाथ योगी बताउनुहुन्छ ।


‘‘कुनै समय मठाधीश बन्नका लागि प्रतिस्पर्धा हुने गर्दथ्यो । इच्छा गरेको व्यक्तिले समर्थन जुटाउनुपर्ने अवस्था थियो ।’’ उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय नाथ समुदायमा पनि सन्यासी बस्ने र कान चिर्नेहरुको कमी हुँदै गयो । जसले गर्दा अहिले मठाधीशका लागि नयाँ सन्यासी जोगी भेट्टाउनै मुस्किल छ ।’’

जसले गर्दा विगतमा भइसकेका मठाधीशलाई पुनः मठको मठाधीशमा दोहाेर्याउने गरेको उहाँले बताउनुभयो । मठाधीशसँगै पुजारी, भण्डारी, सिराने र धुनी योगी वर्षेनी परिवर्तन गर्ने परम्परा रहि आएको छ । अहिले मठमा १२ जना सन्यासी योगीहरु छन् ।