• ८ पुस २०८१, सोमबार

सिकाइ सुधारका १३ बुँदे घोषणापत्र जारी

blog

दैलेख समाचारदाता

सुर्खेत, फागुन ३ गते । गुणस्तरीय शिक्षा सिकाइको उद्देश्यसहित आयोजित दुईदिने विद्यालय व्यवस्थापन समितिको प्रथम कर्णाली प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षा सिकाइ प्रदान गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो।

सम्मेलनले प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकालाई बाल विकास केन्द्रमा अनिवार्य भर्ना गर्नुपर्ने प्रतिबद्धता जनाएको छ। बाल विकास पाठ्यक्रमबमोजिम अध्यापन गराउन आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, विद्यालयबाहिर रहेको अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसहित सबै बालबालिका विद्यालय शतप्रतिशत भर्ना गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि घरमै विद्यालय शिक्षा सञ्चालन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, बालमैत्री वातावरण सुनिश्चि गर्ने, विद्यालयमा बालिका तथा 

लैङ्गिक समावेशी सञ्जाल गठन गर्ने र विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्ने, बालबालिकाको सिकाइ निरन्तरता दिन घरमा पढाइ कुनासहितको गृह विद्यालय निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ। 

त्यस्तै शिक्षकको पेसागत विकाससँगै बालबालिकाको सिकाइप्रति जवाफदेही बनाउने र शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने, विद्यालय सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालय सुधार योजना कार्यान्वयनका लागि अर्धवार्षिक रूपमा समीक्षा गर्ने घोषणापत्रमा उल्लेख छ। विद्यालय व्यवस्थापन र नेतृत्वको असल अभ्यासबारे ‘भर्चुअल’ प्रविधिमार्फत सिकाइ आदानप्रदान गर्ने, विद्यालय व्यवस्थापन समितिको बैठकमा बालसहभागिता सुनिश्चित गर्ने र विद्यालयका सम्पूर्ण गतिविधि पारदर्शी बनाउने, बालबालिकाको विद्यालयमा निरन्तरता र स्वास्थ्य तथा पोषणका लागि दिवा खाजाको प्रभावकारी कार्यान्वयन गर्नेलगायत प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिएको छ। 

सिकाइमा कमजोर भएका बालबालिकाको पहिचान गरी उपचारात्मक कक्षा सञ्चालन गर्ने, स्थानीय तहमा शिक्षा नीति र योजना निर्माण कार्यान्वयन तथा शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न दबाब गर्ने, शिक्षा सुधारका लागि गरिने कार्यक्रममा विद्यालय व्यवस्थापन महासङ्घसँग समन्वय गर्ने घोषणापत्र जारी गरिएको छ। 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सम्मेलन उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले गुणस्तरीय शिक्षण सिकाइका लागि विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने, आवश्यकभन्दा बढी विद्यालय गाभ्ने, विषयगत शिक्षकको व्यवस्थापन, दिवा खाजा प्रभावकारी बनाउने, विद्यालय व्यवस्थापन समिति जिम्मेवार बन्नुपर्ने बताउनुभयो। 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री टेकराज पछाईले शिक्षा सुधारका लागि सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो। कर्णालीको शिक्षा सुधार गर्न प्रदेश सरकारले गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणदेखि शिक्षकलाई प्रोत्साहनसम्मका कार्यक्रम ल्याउनेसमेत जनाइएको छ।