• १३ असोज २०८१, आइतबार

सूर्योदयमा ‘गुनासो चौतारी’

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), फागुन ३ गते  । सूर्योदय नगरपालिकाले वडावडामा पुगेर नगरवासीको गुनासो सुन्न ‘गुनासो चौतारी’ कार्यक्रम सुरु गरेको छ। जनप्रतिनिधि, कर्मचारीसहितका विषयमा खुलेर सोध्न पाउने भएपछि स्थानीयले मनमा लागे जति प्रश्न सोध्ने गरेका छन्। सूर्योदय नगरपालिका–१३ र १४ को सङ्गम स्थल उत्तरेको माङ्खिम भवनको प्राङ्गणमा गुनासो चौतारी कार्यक्रम सम्पन्न भएको छ। जनताका गुनासो सिधै नगर समक्ष राख्न पाउने अधिकारलाई घरदैलोमै पु-याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरले जनाएको छ। 

नगरवासीसँग प्रत्यक्ष नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत वडाका जनप्रतिधिसमेत बसेर सामान्यभन्दा सामान्य गुनासोमाथि छलफल गर्ने र एक आपसका तिक्तता मेटाउन सकिने भएकाले गुनासो चौतारी कार्यक्रम आयोजना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो। “कार्यालयमा एकोहोरो बसेर काम गर्दा आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने थाहा हुन्न, यसरी नगरवासीका घरमै पुग्दा गुनासो मात्र होइन सुझाव पनि आउने गरेको छ,” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो।  

गुनासो चौतारीमा उपस्थित स्थानीयले नगरका योजनामाथि सुझाव राख्दै नगरप्रमुख, उपप्रमुख समक्ष गुनासो व्यक्त गरेका थिए। वडा नं. १४ की तुलसा समालले बर्थिङ सेन्टरको विषयमा चासो राख्नुभएको थियो। उहाँले बर्थिङ सेन्टर स्थापना गरेर मात्र नहुने भएकाले त्यसको उचित व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गर्नुभयो। त्यसैगरी नगर बाल सञ्जालकी सदस्य विज्ञान राईले बालबालिकाका साथै छात्राको समस्या राख्नुभएको थियो। 

उहाँले बालमैत्री नगर घोषणा भएको नगर क्षेत्रमा बालमैत्री विद्यालय निर्माण गर्न पहल गर्नुपर्ने बताउनुभयो। उठेका गुनासो माथि नगरप्रमुख रणबहादुर राईले एकमुष्ट रूपमा नगरको नीति, योजना र कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो। उहाँले नगरले सबै गुनासोलाई एकैसाथ समाधान गर्न नसके पनि क्रमिक रूपमा समाधान गर्दै जाने बताउनुभयो। 

नगरप्रमुख राईले भन्नुभयो, “यस्ता कार्यक्रमले सुशासन र पारदर्शिता कायम गर्न सहयोग पुग्छ। नगरले  सार्वजनिक प्रशासनलाई जनउत्तरदायी र सुशासन सुनिश्चित गर्न कस्तो भूमिका खेलेको छ भनेर जनताले प्रत्यक्ष्य जान्न पाउने गरी गुनासो चौतारी सुरु गरेका हौँ,” नगरप्रमुख राईले भन्नुभयो। 

नगरप्रमुख राईका अनुसार अघिल्लो कार्यकालमा आएको सुझावकै आधारमा करफोक बहुमुखी क्याम्पसमा वार्षिक २५ लाख रुपियाँ बजेट छुट्याएर नगरले छोरीबुहारी शिक्षा कार्यक्रम सुरु गरेको छ। पढाइबाट बञ्चित भएका छोरी बुहारीले छात्रावृत्तिमा अध्ययन गरिरहनुभएको छ। चार वर्षमा उक्त कार्यक्रममा १५३ जना छोरी बुहारी सहभागी बनिसक्नु भएको क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिनुभयो।

गुनासो चौतारी कार्यक्रमले जनप्रतिनिधिसहित प्रत्येक शाखा र वडाका कर्मचारीलाई समेत जवाफदेही र जिम्मेवार बनाउने अपेक्षा नगरको छ। बाँकी १२ वटा वडामा चाँडै नगरले गुनासो चौतारी कार्यक्रम गर्ने जनाएको छ।