• ८ पुस २०८१, सोमबार

क्यान्सर पीडित विश्वकर्माद्वारा सहयोगको अपिल

blog

राजन रावत

हुम्ला, फागुन २ गते । हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आउनुभएको छ । पछिल्लो अवस्थाले उहाँ आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको देखिएको हो ।

अहिलेसम्म उहाँले कहिल्यै कसैलाई उपचारका निम्ति गुहार माग्नुभएको थिएन । उहाँसँग भएको धेरथोर रकमबाट सकेको उपचार गर्दै आउनुभएको छ । पाँच वर्षसम्म रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिले काम नगर्दा पैसा खर्च हुँदै गए पनि उहाँ निको हुन सक्नुभएको छैन । 


यसअघि नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता लाग्न सकेको थिएन । उहाँ हाल भारतको लखनउको भगवती रूप अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँमा लागेको रोग क्यान्सर भएकाे पुष्टि भएको छ । चार महिनादेखि उक्त अस्पतालमा उपचार गराई रहनुभएको छ । उहाँले अस्पतालको बेडबाटै हालसम्म तीस लाख खर्च भएको बताउनुभयो । उहाँले भएको रुपियाँ सकिएका कारण अब उपचारका लागि आर्थिक सङ्कट सुरु भएको बताउनुभयो । 


पछिल्लो समय उहाँ झन्झन् कमजोर बन्दै गई रहनुभएको छ । जब उहाँ सम्पूर्ण रूपमा रित्तो हुँदै जानुभयो तब उहाँ अहिले मृत्यु पर्खी रहनुभएको छ । उपचार गर्न नसकेर हतास भएका जगतले अब मृत्यु कुर्नुबाहेक अरू कुनै विकल्प नभएको बताउनुभयो । २०५२ सालदेखि २०६३ सम्म माओवादी आन्दोलनमा होमिनुभएका जगत अहिले निकै सङ्कटमा पर्नुभएको छ । 


पार्टीका लागि लडियो तर अहिले रोगले थला परेको बेला सहयोग गर्ने कोही नभेटिएकोमा उहाँले दुःखेसो सुनाउनुभयो । उहाँ अहिले अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहनुभएको छ । हिजो कमजोर र बेसहारालाई भरोसा दिने उहाँ आज आफैँ सहारा खोज्ने स्थितिमा पुग्नुभएको छ । विश्वकर्माले थप उपचार गर्नलाई रकम अभाव भएपछि क्रमशः फिर्ता गर्ने गरी सक्दो सहयोग गर्न सबैमा अपिल गर्नुभएको हो । उहाँ जनयुद्धमा सहभागी योद्धासमेत हाे । 

विश्वकर्माले आफू बाँचे आगामी दिनमा निःस्वार्थ रूपमा मानव सेवामा  समर्पित भएर लाग्ने बताउनुभयो ।