• १३ साउन २०८१, आइतबार

किसानमैत्री तरकारी बजार आवश्यक : कृषिमन्त्री

blog

काठमाडौँ, फागुन २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २९औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले देशभरका ठूला तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । 

उत्पादक किसानले मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने समस्यालाई तत्काल निराकरण गरी अहिले भएका बजारको तह घटाउनुपर्ने उहाँको भनाइ थियो । 

“बजारको तह के कसरी घटाउन सकिन्छ ? यस विषयमा उपयुक्त विकल्प आएमा म सहयोग गर्छु,” उहाँले भन्नुभयो, “दुःख र लगानी गर्ने किसानले मूल्य नपाएर तरकारी सडकमा फाल्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखदायी अवस्था हो ।” उहाँले अब यस्ता खालका समस्या देख्न र सुन्न नपर्ने वातावरण बनाउन के गर्न सकिन्छ आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले किसानको उत्पादनले उचित मूल्यसहितको बजार पाउनुपर्ने भन्ने पक्षमा आफू सधैँ रहेको र किसानकै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसान र बजारलाई प्रत्यक्ष जोड्ने र किसानको पसिनाको उचित मूल्य प्राप्त गर्ने वातावरण यस बजारमार्फत हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयका पशुतर्पmका सचिव डा. दीपककुुमार खरालले किसान र उपभोक्ताबीच रहेको मूल्य अन्तरलाई कम गर्ने सवालमा यस बजारको महत्वपूर्ण भूमिका हुनुपथ्र्यो तर त्यो हुन नसकेको बताउनुभयो । तरकारी उत्पादन किसानदेखि उपभोक्तासम्म आउँदा बजारको तह धेरै भएकाले किसान र उपभोक्ता मारमा परेको उहाँको भनाइ छ । समितिका अध्यक्ष कालीप्रसाद पराजुलीले कालीमाटी बजारलाई किसानमैत्री बनाउन पहल भइरहेको बताउनुभयो । उहाँले किसान र उपभोक्ताबीच अहिले रहेको बजारको तह कम गर्नका लागि समितिका तर्फबाट के गर्न सकिन्छ आवश्यक सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।