• २३ पुस २०८१, मङ्गलबार

३० स्वर्णका लागि चार हजार खेलाडीको प्रतिस्पर्धा

तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड

blog

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख रामकृष्ण खाण। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई शैक्षिकसँगै खेलकुदको समेत हब बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो। 

उहाँले खेल क्षेत्र राष्ट्रकै पहिचान बनाउनसमेत महत्त्वपूर्ण रहेको बताउनुभयो। नगर स्तरीय र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि नगरको सीमित स्रोत र साधनले सम्भव नभएको उल्लेख गर्नुभयो।

हरेक क्षेत्रमा तिलोत्तमालाई नमुना बनाउने आफ्नो प्रयास रहेको बताउँदै उहाँले समग्र खेल क्षेत्रको विकास, शिक्षा तथा स्वास्थ्यको विकाससँगै नगरलाई हरित सहरको रूपमा विकास गर्ने लक्ष्य रहेको समेत धारणा राख्नुभयो। 

नगर उपप्रमुख जगेशवरदेवी चौधरीले खेलकुदको विकाससँगै अब व्यावसायिकतालाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो। खेलकुदको व्यावसायिक रूपमा विकास नै पहिलो कडी भएको चौधरीको भनाइ छ। प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ। 

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गङ्गाराम आचार्यले जानकारी दिनुभयो।