• ७ मंसिर २०८१, शुक्रबार

अध्ययनसँगै च्याउखेती

blog

भजनी, फागुन १  गते । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषिविज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ ।  उहाँ अध्ययनसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आउनुभएको छ ।

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउखेती गर्दै आएकी उहाँलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् । “भाडाको बसाइ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने”, विपनाले भन्नुभयो, “च्याउखेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।”

समूहमा जोडिएका अछाममा रमेश साउँद मङ्गलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिनुहुन्छ । उसो त उहाँहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाउनुभएको छ । उहाँहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पु¥याउनुहुन्छ । उहाँसँगै एकदुई जना अन्य साथी पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उहाँहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउखेतीको बारेमा बुझाउन पनि ।  

प्रतिकेजी रु. एक सय २० मा च्याउ बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । “बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ ।“ रमेशले भन्नुभयो, “आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।“ प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उहाँहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।

आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैसी बताउनुहुन्छ । “आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउखेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि । कुवेर भन्नुहुन्छ , “उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका  छौँ । अझै त्यही मात्रामा उत्पादन हुने आशा छ ।”

उहाँहरुले च्याउखेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोच बनाउनुभएको छ । बिहानको समयमा कलेजमा हाजिर हुने विद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन्  । फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउनुहुन्छ । “हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसर मिलेको छ”, अर्जुनले भन्नुभयो, “कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।”

यसभन्दा पहिले उहाँहरुले फूल खेतीसमेत गर्नुभएको थियो । फूल खेतीबाट रु. ५० हजार आम्दानी गरेको आशिष धामीले बताउनुभयो । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ । उहाँले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताउनुभएको छ । “फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौं । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो”, उहाँ भन्नुहुन्छ, “आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।”

कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उहाँहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ ।