ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १ गते । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर, जलजला र वराह तालको भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जलजला गाउँपालिका तयारीमा जुटेको छ ।
धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको पर्यटन प्रवर्धन तथा प्रचारप्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
भ्रमणका क्रममा वडा नम्बर २ पूर्णगाउँमा रहेको धार्मिक पर्यटकीय सम्भावना बोकेको वराह ताल परिसरमा निर्माण गरिएको घर्ती क्षेत्रीको कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको वडा नम्बर २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।
राष्ट्रपतिका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र मुख्य सचिव शङ्करदास वैरागीलगायत उच्चपदस्थ अधिकारीहरु आउनुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
साथै राष्ट्रपति भण्डारीले हम्पाल कालाञ्जर क्षेत्रमा निर्माण भइरहेका भौतिक संरचनाको अवलोकन गरेपछि वराहक्षेत्रमा निर्माण भएका दुई वटा कुल मन्दिरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
कलाञ्जर हम्पाल तथा वराहक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्न भ्रमणले टेवा पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति भण्डारी आउने निधो भएपछि गाउँपालिकाले राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन आवश्यक सबै तयारी थालेको छ ।