• १३ असोज २०८१, आइतबार

गाउँका घर जल्दा औचित्यहीन भए सदरमुकामका दमकल

blog

शेरबहादुर राई 

ओखलढुङ्गा,फागुन १ गते । ओखलढुङ्गामा सुक्खा महिना लागेसँगै आगलागीका घटना बढ्न थालेका छन्। करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी घरमा आगलागी भएको छ। गाउँका घरहरू जल्दा सदरमुकामका दमकल प्रयोगविहीन अवस्थामा छन्। 

सिद्धिचरण नगरपालिकामा रहेका दुईवटा दमकल अहिले प्रयोगविहीन अवस्थामा राखिएको छ। केही महिनाअघि सिद्धिचरण नगरपालिकाभित्रै ओखलढुङ्गा सदरमुकाम नजिकैका तीन गाउँका घरमा आगलागी हुँदासमेत ती दमकल प्रयोगमा आएनन्। सिद्धिचरण नगरपालिका–११ सोब्रुका प्रकाश राई, वडा नं. ५ चित्रेका किपा शेर्पा र वडा नं. ८ सल्लेरीका दीर्घबहादुर तामाङको घरमा आगलागी हुँदासमेत ती दमकल प्रयोगमा आएनन्। घटनास्थल सदरमुकामदेखि करिब १५ मिनेटको दूरीमा छन्। 

सदरमुकामदेखि पक्की सडक हुँदै सहजै पुग्न सकिने मानेभन्ज्याङ गाउँपालिकाका दुई स्थानमा गत एक साताअघि आगलागी भयो। मानेभन्ज्याङ गाउँपालिका–५ मा राष्ट्रिय वाणिज्य बैङ्क नजिकै मुख्य बजारमा रहेको रणबहादुर आलेको घर, भैँसीगोठ र भान्साघरमा आगलागी भयो। घण्टौँसम्म भएको आगलागीबाट मगरको घर, गोठ, भान्साघर र नजिकै कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरिएको घरमा क्षति पुग्यो। नेपाल प्रहरी, अरिदमन गणका नेपाली सेना र स्थानीयको घण्टौँ प्रयासपछि आगो नियन्त्रणमा आएको वडाध्यक्ष रामकुमार राईले बताउनुभयो। घटनामा मगरको लाखौँ क्षति भएको वडाध्यक्ष राईको भनाइ छ। 

सोही गाउँपालिका–८, राघवपुरस्थित स्थानीय हर्कबहादुर राई र टेकबहादुर राईको फुसको छानो भएको ढुङ्गा माटोले बनेको घर जलेर नष्ट भएको छ। घरमा रहेको नगद ३० हजारसहित सुनचाँदी, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा करिब १४ लाख रुपियाँबराबरको क्षति भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो। मानेभञ्ज्याङमा आगलागी भएका दुवै स्थान करिब ४५ मिनेटमा दमकल पु-याउन सकिने दूरीमा छन्। सुनकोसी गाउँपालिका–८, च्यानामका जानुका मगर र जिल्लाकै उच्च स्थान तीन हजार ५५० मिटर उचाइको देम्बा डाँडामा सञ्चालन गरिएको एग्रो टुरिजम रिसोर्टमा पनि आगलागी भएको छ। 

गाउँका घरहरू जल्दा पनि सदरमुकामको दमकल प्रयोगमा नआउँदा नगरपालिकाको आलोचना हुन थालेको छ। नगरपालिकामा रहेको दमकल प्रयोग गर्न नसकिने अवस्थामा रहेको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो। दक्ष जनशक्ति नभएको र दमकलसमेत पुराना भएकाले मर्मतका लागि खर्च गरिरहनुपर्ने भएकाले प्रयोगमा ल्याउन नसकिएको नगरप्रमुख खनालको भनाइ छ। 

“नगरपालिकामा फायर फाइटर (अग्नि नियन्त्रक) छैनन्, आगो निभाउन चालक र नगर प्रहरी पठाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “दुइटै दमकल मर्मत गरिरहनुपर्ने अवस्थाका पुराना छन्। त्यसकारण आगलागी भएको ठाउँमा पठाउन नसकिएको हो।” दमकल मर्मत गरेर आगलागी नियन्त्रणका लागि प्रभावकारी बनाउने योजना रहेको उहाँको भनाइ छ। सङ्घीय र प्रदेश सरकारमार्फत नगरपालिकालाई दुईवटा दमकल प्राप्त भएको थियो।