• १३ साउन २०८१, आइतबार

‘फागुन १६ गतेसम्म ठूलो वर्षा हुने सम्भावना छैन’

हिउँदे वर्षा भएन : खाद्यान्नको जोहो गर्न सरकारलाई विपद् विज्ञको आग्रह

blog

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेती । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २७ गते । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्यचक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।

विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिए पनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

‘‘मङ्सिर १५ देखि फागुन १६ को अवधि हिउँदे अवधि हो । यस अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्ने हो । तर अहिलेसम्म वर्षाको हिसाबले हेर्ने हो भने ७.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जुन १३.१ प्रतिशत मात्रै हो । यो भनेको लगभग ८६.९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘५० प्रतिशतभन्दा बढी रेनफल डेफसेन्सी भयो भने एक्युट डाउटको अवस्था भनिन्छ । फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औसतभन्दा कम छ ।’’

हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकाले सरकारले समयमा नै विपद् पूर्व सूचना र विपद् पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको विज्ञ उप्रेतीको भनाइ छ । उहाँले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताउनुभयो ।

‘‘भूमध्य सागरमा जुन खालको सिस्टम विकास भएर पश्चिमी वायु वहनुपर्ने हो, पश्चिमी वायु जति बहनुपर्ने हो त्यसको फिक्वेन्सी पनि घटेको र यसको बलियो पन पनि आउन सकेको अवस्था छैन । पश्चिमी वायु पनि कमजोर हुनु, भूमध्यसागको सिस्टम बन्नुपर्ने हो जसले पश्चिम वायुलाई प्रभावित गर्छ, त्यहाँ पनि कमजोर हुनु र प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा पनि कमजोर हुनु र अहिलेको अवस्थामा लालिना कण्डिशन भन्छ, यो भनेको समुन्द्रको सतहको तापक्रम ५० वर्षभन्दा यताको अहिले कम छ ।,’’ विज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘‘३० वा त्योभन्दा बढी समयमा कुनै कुरा औसतभन्दा कम भयो भने, औषत वा त्योभन्दा माथि भयो भने त्यो जलवायु परिवर्तनको कारक हो । वाष्पीकरण भएर आउने बाफ नै बनेन जसले वायुमण्डलको हावा कमजोर भयो, पश्चिमी वायु नै बनेन । पानी र हिउँ पार्ने सिस्टम नै भएन ।’’

हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको छ । सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने विज्ञ डा. उप्रेतीले बताउनुभयो ।

‘‘यो सुख्खा खडेरीको अवस्था हो । यसले हिउँदो बाली, पारिस्थितिय प्रणाली, वन सम्पदादेखि सबैमा यसको असर हुन्छ । त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो । यसले ल्याउने असर भनेको होल हाइड्रो लोजिकल सिस्टममा अर्थात् पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पति हुने नदीनाला सिस्टम जुन छ, त्यसमा पानीको मात्रा कम हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो कृषि प्रणालीमा पनि असर गर्छ । कृषि उत्पादन घट्छ । खाद्यसुरक्षामा पनि असर गर्छ । समग्रमा यो अहिलेको परिस्थिति लामो समयको औसतभन्दा समुन्द्र सतहको तापक्रम कम हुनु, पश्चिमी वायु कमजोर हुनु, त्यसले गर्दा वाष्पीकरण नहुनु र वर्षा कम भएको अवस्थाले हामीलाई समग्रमा वातवरणमा यसको असर परेको छ ।’’

उहाँले समुन्द्र सतहको तापक्रम औसतभन्दा कम हुनु, पश्चिमी वायु नवहनु, प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको धारणा औंल्याउनुभयो । विज्ञ उप्रेतीले समुन्द्र सतहको तापक्रम ५० वर्ष पछिकै कम रहेको उल्लेख गर्नुभयो ।

‘‘वायु प्रदूषणको अवस्था बढ्दो छ । कृषि प्रणालीमा कमजोर भयो भनेपछि भोकमरीको समस्या, हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको थियो तर काठमाडौंतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भयो भने त्यसले खाद्यान्न उत्पादन कम भयो, खाद्यसुरक्षाका लागि राज्यले जोहो गर्नुपर्ने पक्ष के हो भने नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा शतर्कता अपनाउन आवश्यक छ । सिंचाइ प्रणालीमा सुधार गर्नुपर्ने अवस्था छ ।’’ विज्ञ उप्रेतीले भन्नुभयो । विपद् विज्ञ उप्रेतीले फागुन १६ गतेसम्म पनि ठूलो वर्षा हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।