• ६ जेठ २०८१, आइतबार

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री

blog

काठमाडौँ, माघ २७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ । 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो । 

उहाँले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताउनुभएको माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 

बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पार्नुभएको थियो । 

उहाँले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गर्नुभएको थियो । दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन् । अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ । 

जनतासँगको छलफलका आधारमा आगामी दुई महिनापछि पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी कार्यभारका बारेमा व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ ।