• ७ वैशाख २०८१, शुक्रबार

गौशालामै गाई भोकै

blog

टीकापुर समाचारदाता

टीकापुर, माघ २२ गते । टीकापुर नगरपालिका–२ मा बनाइएको गौशाला व्यवस्थित नहुँदा यहाँ थुनिएका गाई स्याहार नपाएर मर्न थालेका छन्। नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरे पनि गाईले खान पाएका छैनन्। गौशालामा करिब आठ सय गाई थुनिएका छन्। तीमध्ये छ सय जति गाई दैनिक रूपमा जङ्गल लगेर डुलाउने गरिएको छ। दुई सय जति थुनेरै राखिएका छन्।

गाउँबाट धपाएर ल्याएका गाईगोरुलाई केही दिन थुनेर राख्ने र दुब्लाएर कमजोर भइसकेपछि जङ्गलतिर लैजाने व्यवस्था मिलाएको छ। भर्खरै ल्याएका गाईगोरुलाई जङ्गल लैजाँदा भाग्ने भएकाले अलिअलि पराल खुवाएर थुनिराख्ने गरिएको गोठालाको भनाइ छ। गौशाला व्यवस्थापनका लागि यस वर्ष २० लाख रुपियाँ बजेट छ। गाई चराउन आठ जना गोठाला राखिएका छन्। जङ्गलमा पनि कर्णालीको बाढी पसेकाले चरन छैन, बालुवा मात्रै छ। 

डुलाएर, पानी खुवाएर थुन्ने गरेको गोठाला देवकुमार चौधरीले बताउनुभयो। गौशालाको बाहिर एक थुप्रो पराल राखिएको छ, जो सबै गाईलाई खुवाउने हो भने एक दिनलाई पनि पुग्दैन। त्यसैले भर्खर ल्याइएका थुनुवा गाईलाई मात्रै खुवाउने गरिएको बताइन्छ। यसअघि जाडोमा मरे पनि अब चिसो हट्दै गएकाले मर्न कम भइसकेको अर्का गोठाला तुलाराम पोखरेलले बताउनुभयो।

एक करोड ६० लाख रुपियाँको लागतमा बनेको गोबर ग्यास प्लान्टबाट उत्पादित ग्यास अझै उपभोक्तालाई दिइएको छैन। ग्यास प्लान्टबाट सात महिनाअघिदेखि ग्यास निस्किरहेको छ। स्थानीय ठाकुरप्रसाद चौधरीले भन्नुभयो, “मेसिन दैनिक चलिरहेको छ, घरघरमा मिटर, चुला लागेको छ तर गोबर ग्यास तयार भए पनि हामीले पाएका छैनौँ।”

निस्कने गोबरको जैविक मल बनाउने भनिए पनि बनाइएको छैन गोबर उम्लेर बगेर खेर गइरहेको छ। गौशाला व्यवस्थापन समितिका अध्यक्ष डम्बर बुढाले पालिकाले गोठालाको खर्च दिए पनि चाराको पैसा नदिँदा गाई व्यवस्थापनमा समस्या भएको बताउनुभयो।

स्थानीय मात्रिकाप्रसाद रेग्मीले पालिकाले ठूलो लगानी गरेर गौशाला बनाए पनि गाईको आहारासहित संरक्षण नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “गाईको मुखमा घाँसपराल केही देखिँदैन। यत्रो लगानी भएर पनि गाईको संरक्षण भएन। यहीँको ग्यास, गोबर, गाईबाच्छा, गोरु बेचेर पनि आहारा किन्न सकिन्थ्यो।” नगरप्रमुख रामलाल डङ्गौरा थारूले गाई व्यवस्थापनमा समस्या भइरहेकाले निजी क्षेत्रलाई जिम्मेवारी दिन लागेको बताउनुभयो।