• १२ असोज २०८१, शनिबार

डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय

blog

राजकुमार भट्टराई
खोटाङ, माघ २१ गते ।
 खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।  

वि.सं. २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षकको सरुवा भएपछि विद्यालयको पूरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो ।

कक्षा एकदेखि तीनसम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । तीन वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ ।

विद्यालयमा अन्य शिक्षक नभएपछि बिरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले बिरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्यार्थीलाई पठाउने गरेको छु ।’’ कार्यालय सहयोगी मगरले भन्नुभयो । वि.सं. २०६३ सालमा स्थानीयले देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयको भवनसमेत जीर्ण रहेको छ ।

विद्यालय भवनको दायाँ–बायाँको पर्खाल भत्किन लागेको छ भने जस्तापातासमेत उक्किएको छ । झ्याल ढोकासमेत नभएको भवनको निदाल र सरा धमिरा लागेर मंकिएको छ । विद्यालयमा विद्यार्थीहरूका लागि डेस्क, बेन्चकोसमेत अभाव हुँदा विद्यार्थीहरूलाई १०–४ को समय बिताउन कठिन भइरहेको मगरले बताउनुभयो । विद्यालयको भवन जीर्ण भएकाले विद्यार्थीलाई भित्र राख्न डर हुने गरेको छ । त्यसैले बाहिर राखेर पठन–पाठन गराउने गरेको उहाँको भनाइ छ । २०७२ सालको भूकम्पले जीर्ण बनाएको भवन निर्माणका लागि धेरै पटक सरकारी निकायसँग माग राख्दा अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

साबिक राजापानी गाविसको वडा नम्बर १ थुम्कीमा पर्ने उक्त विद्यालयमा चाँडै शिक्षकको व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । नजिकै रहेको महंकला आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज रेग्मीले उक्त विद्यालयको पनि प्रशासनिक कार्य भने हेर्दै आउनु भएको छ । करारमा शिक्षक राख्न विज्ञापन गर्न नगरपालिकाले अनुरोध गर्दा अभिभावक नमानेपछि स्थायी शिक्षकको अभाव भएकाले विद्यालयमा समस्या देखिएको नगर शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । अब आउने स्थायी शिक्षकलाई उक्त विद्यालयमा पठाउने नगर कार्यपालिकाले निर्णयसमेत गरेको कार्कीले बताउनुभयो । 

विद्यालयको अनुगमन गर्दा धेरै बिजोग देखिएकाले यस वर्ष भित्रमा जसरी पनि नयाँ भवन निर्माण गर्ने नगरपालिकाका उपप्रमुख रमेश कुमार राउतको भनाइ छ ।