अविनाश चौधरी/चाँदनी आचार्य
धनगढी, माघ २० गते । दशक वर्षअघिसम्म भजनी नगरपालिका–७ हिम्मतपुरमा ठूलो पुरैना ताल थियो। त्यसमा सारसलगायतका दुर्लभ चराचुरुङ्गी वर्षभरि उडेका देखिन्थे। पछिल्ला वर्षमा यो तालमा अन्न उत्पादन हुने गरेको छ।
२०६६ बाट अतिक्रमणको चपेटामा परेको पुरैना ताल हाल आएर खेतीयोग्य जमिनमा परिणत भएको हो। छोटो अवधिमै यो प्राकृतिक तालको अस्तित्व मेटिएको छ। त्यस्तै कैलारी गाउँपालिका–५, बैजपुरस्थित वसन्ता वन क्षेत्रमा रहेको ठूलो सिमसार हो, रखौना ताल। यो ताल आम्दानीको गतिलो स्रोत बनेको छ तर यसको प्राकृतिक अवस्था बिग्रिँदै गएको छ। माछापालन गरिरहेका ठेकेदारले हिउँदमै पानी सुकाउने गर्दछन्।
पुरैना र रखौना ताल मात्रै होइन, कैलालीमा रहेको प्रायः सबैजसो सिमसारको अवस्था पहिलेको जस्तो छैन। अतिक्रमण, जथाभावी उत्खनन्, दोहनलगायतका कारणले महत्त्वपूर्ण सिमसार मासिँदै गएका छन्। प्राणीजगत्का लागि अत्यन्त महत्त्वपूर्ण मानिने सिमसार मासिँदै जानु चिन्ताको विषय रहेको संरक्षणकर्मी एवं डल्फिन, जलचर तथा जैविक विविधता समाज नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउनुहुन्छ।
जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र वा तालतलैया हो। सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ। तराईमा सबैभन्दा बढी सिमसार क्षेत्र कैलालीमा रहे पनि मानवीय र प्राकृतिक कारणले घट्दै गएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालले बताउनुभयो।
“चुरे, घोडाघोडी र वसन्ता क्षेत्रमा धेरै सिमसार छ,” उहाँले भन्नुभयो, “तर अतिक्रमणको चपेटामा परेर अन्य खालको क्षेत्रमा परिणत भइरहेको छ।’ सिमसारको संरक्षण र पुनस्र्थापनको विषय जटिल बन्दै गएको रिजालले उल्लेख गर्नुभयो। वसन्ता करिडोरस्थित २०/२५ बिघा क्षेत्रफल ओगटेको हन्र्याहान ताल र करिब आठ/दस बिघा क्षेत्रफलमा फैलिएको पस्र्याहान तालको अवस्था पनि नराम्ररी बिग्रिसकेको छ। यसैगरी कोइलही, चम्रहिया, बन्जरिया, पिपरहुवा, लौकाहा–भौकाहा, सोनियाँ–रुपियाँ, ओजुवालगायतका प्राकृतिक तालमा व्यावसायिक रूपमा माछापालन भइरहेका छन्।
सामुदायिक वन क्षेत्रभित्र रहेका प्राकृतिक ताललाई कतिपय सामुदायिक वनले नै र राष्ट्रिय वनसहित अन्य क्षेत्रमा रहेका प्राकृतिक ताललाई स्थानीय तहले ठेक्कामा लगाएका छन्। ठेक्कामा लगाइएका तालको प्राकृतिक अवस्था फरक भइसकेको छ।
प्राकृतिक तालतलैयाजस्ता सिमसार क्षेत्रलाई जीविकोपार्जन र आयआर्जनका लागि सदुपयोग गर्नु गलत त होइन तर वन्यजन्तुले निर्वाध रूपमा पानी खान नपाउने, चराहरू बस्न नपाउने गरेर संरचना निर्माण र अवरोध सिर्जना गर्न नहुने रिजाल बताउनुहुन्छ। “तालको संरक्षण गर्ने नाममै पनि यस्तो अवस्था सिर्जना गर्न पाइँदैन,” उहाँले भन्नुभयो। माछापालनका लागि ठेक्का पाएका ठेकेदारले आफूखुसी तालको उपयोग गर्दै आएको देखिएका छन्। उनीहरूले कुनै बेला धेरै पानी राख्ने त कुनै बेला पूरै ताल नै सुकाएर माछा मार्ने गर्दछन्।
वनसम्बन्धी निकाय र स्थानीय तहबाट सिमसार व्यवस्थापन र संरक्षणका लागि केही काम भइरहेका छन् तर जति हुनुपर्ने त्यति काम हुन नसकिरहेको प्रमुख रिजालको बुझाइ छ। “सिमसार संरक्षणका लागि जति कार्यक्रम हुनुपर्दथ्यो, त्यति हुन सकेको छैन,” उहाँले भन्नुभयो।
सिमसारलाई जलीय जीवदेखि लिएर जलपन्छीको संसार मानिन्छ तर सिमसारमै आएको समस्याले पारिस्थितिकीय प्रणालीमा असर परिरहेको छ। सुख्खायाममा कतिपय क्षेत्रमा धारा नै सुक्ने वा कम पानी आउने समस्या देखिन्छ। यसैगरी पानीमा आहारबिहार, प्रजनन् गर्ने जलपन्छी पनि पहिलेभन्दा कम हुँदै गएका छन्।
साँघुरिँदै सिमसार, जनचेतनाको खाँचो सिमसार क्षेत्र संरक्षणका लागि स्थानीयस्तरबाट नै जागरुक हुनुपर्ने बताइएको छ।
कैलालीको घोडाघोडी ताल क्षेत्रमा बिहीबार विश्व सिमसार दिवस मनाउन जम्मा भएका सरोकारवालाले वर्षमा एक दिन दिवस मनाउन जम्मा भएर मात्र सिमसार क्षेत्रको संरक्षण हुने नभई स्थानीय स्तरबाट नै अपनत्व हुनुपर्ने बताएका हुन्।
घोडाघोडी नगर सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष मैना ढकालले वनजङ्गल नभई पानी नहुने बताउँदै पानी र वनजङ्गल सिमसार क्षेत्रको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले सिमसार क्षेत्र जोगाएपछि स्थानीयले के फाइदा पाए भन्ने कुरा बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो।
मानव बस्तीको वृद्धिसँगै सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएपछि नेपालमा भएका सिमसार क्षेत्र साँगुरिदै गएको बताइएको सरोकारवालाको भनाइ छ।
पन्छी संरक्षण सङ्घका व्यवस्थापक गोपाल नेपालीले केही सीमित व्यक्तिले भाषण गरेर मात्र संरक्षण नहुने बताउँदै जनस्तरमा सचेतनाका कार्यक्रम लैजानुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “संरक्षण हाम्रो लागि हो, हामी संरक्षणका लागि हौँ भन्ने तरिकाले स्थानीय समुदायलाई जबसम्म जागरुक गराउन सकिन्न तबसम्म संरक्षण नारामा मात्र सीमित हुन्छ।’
स्थानीय, प्रदेश र सङ्घीय सरकारले सिमसार क्षेत्र संरक्षणका लागि जनस्तर केन्द्रित जनचेतनामूलक कार्यक्रम लैजानुपर्ने नेपालीको भनाइ छ। प्राकृतिक तथा मानवीय गतिविधिका कारण तराईका सिमसार क्षेत्र मासिँदै गएका छन्। कैलालीमा ८० देखि ८५ वटा प्राकृतिक तालतलैया रहेको बताइएको छ। सबै सिमसार क्षेत्र प्राकृतिक रूपमा आउने बाढीपहिरोका कारण ताल पुरिँदै गएका छन्।
हरेक वर्ष फेब्रुअरी २ मा सिमसार दिवस मनाउने गरिन्छ। घोडाघोडीमा ‘आजको आवश्यकता सिमसारको पुनस्र्थापना’ भन्ने नाराका साथ दिवस मनाइएको छ। डिभिजन वन कार्यालय पहलमानपुरको सहयोग तथा घोडाघोडी जनजागरण मञ्चको आयोजनामा दिवस मनाइएको हो।
सिमसार जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ।
नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्। पन्छी संरक्षण सङ्घका फिल्ड संयोजक हिरूलाल डङ्गौराका अनुसार नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्। घोडाघोडीमा ३६० प्रजातिका चरा पाइन्छन्।
त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन्। विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संर्वद्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार सहरमा भएको थियो।