• १३ साउन २०८१, आइतबार

रत्नेचौरको पहिचान बन्दै चिता हाउस

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १७ गते । पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँट नजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै राम्रो पहिचान बनाउन सफल भएको छ । एकै घरका दुई दाजुभाइले चिता हाउस सञ्चालन गरेका हुन् । 

कुनै समय स्याल र चितुवाको बासस्थान रहेको तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवानिवृत्त दाजु वीरबहादुर र करिब १२ वर्ष वैदेशिक रोजगारीमा भौँतारिएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फस्टाउँदै गएको छ । दुई जनाले आफ्नो झन्डै खेर गएको अवस्थामा हरेको जग्गामा कटेजसहितको रेस्टुरेन्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ ।

चिता निकै द्रुत गतिमा दौडने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेन्डिसाइडले च्याप्दा भारतीय सेनाको चिता नामक हेलिकप्टरले उद्धार गरेर आफूलाई जीवन दान दिएको हुँदा त्यही छिटो दौडने चिताकै नामबाट व्यवसायको नाम राखेको वीरबहादुरको भनाइ छ । वैदेशिक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै तीन जना कुक (भान्छे) र छ जना सहयोगी गरी ११ जनाले चिता हाउसमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ बाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झन्डै दुई करोड रुपियाँ लगानी भएको वीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरूले व्यवसायको स्थान पहिचान गरेको उहाँको भनाइ छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीनवटा क्याम्प फायर, चार अट्याच रुमसहित ५० जना बास बस्न मिल्छ । 

चिता हाउसकै परिसरमा फरक–फरक स्थानमा दुईवटा वनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दालाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो । “रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रका अभिकर्ताको उत्प्रेरणा तथा वनभोजका लागि उचित स्थानको खोजीमा थियौँ । चिताले बनाएको  संरचना म्याग्दी, पर्वत र बागलुङ गरी तीनवटै जिल्लाबाट पायक पर्ने हुँदा यहीँ चयन गरियो,” उहाँले भन्नुभयो ।

रत्नेचौर क्षेत्रमा कार्यक्रम गर्न खुला स्थान हुँदै गर्दा पनि खानेबस्ने सुविधा नहुँदा नजर पर्न नसकेका कारण यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कटुवालका अनुसार रत्नेचौरको तोरीको फाँट, अग्लो तथा लामो पुल हेर्न आउने पर्यटकका लागि मात्रै नभएर बागलुङ–बेनी सडकखण्डको बीचमा खाजा नास्ताका लागि पनि चिता हाउस उत्कृष्ट र मुख्य विकल्प भएको छ ।