• ८ मंसिर २०८१, शनिबार

पासोमा परेकी देवी

blog

सिन्दु र बिन्दु दुई दाजुभाइ । तान्त्रिक विद्यामा निपुण यी दाजुभाइको दिनचर्या दोलखा राज्य र यहाँका जनताको हेरचाहमै बित्थ्यो । दोलखा राज्यमा केही विपत् आइप-यो वा जनतालाई केही पीडा र समस्या भयो भने यी दाजुभाइले तान्त्रिक विधिबाट त्यसको समाधान खोज्थे । 

किराँतकालीन त्यो समयमा जडीबुटी, झारफुक र तान्त्रिक विधि नै त थियो हरेक समस्याको समाधान । प्रत्येक बिहान तामाकोसी नदीमा पुगेर धोतीपाटा फेर्दै शिरमा जल छर्केर आफूलाई शुद्ध बनाउने र नदीबाट तामाको घडामा जल ल्याएर भीमेश्वरको मन्दिरमा चढाउने उनीहरूको दैनिकी थियो । 

वर्षा ऋतु सकिएर शरद् ऋतुको आगमन हुँदै थियो । शनिबारको बिहानीपख गौरीशङ्कर हिमशृङ्खलाबाट उदाउँदै गरेको सूर्यलाई हुस्सुले छोप्दै थियो । सिन्दु र बिन्दु तामाकोसी नदीमा आफ्नो दैनिक काममा थिए । कसैले साना–साना ढुङ्गाले हिर्काएर जिस्काइरहेका थिए । यसरी उनीहरूलाई जिस्क्याएको यो पहिलो पटक भने होइन । अघिल्ला दिनमा पनि यो क्रम चलिरहेकै थियो । बाक्लो हुस्सुले गर्दा यो काम कसले गरेको हो भनेर दाजु–भाइले ठम्याउन सकिरहेका थिएनन् । 

उनीहरू गफिँदै गर्दा तामाकोसीको चिसो सिरेटोसँगै नदी किनारको हुस्सु बिस्तारै माथि–माथि उक्लन थाल्यो । हुस्सु फाट्दै गएपछि स्पष्टसँग टाढा टाढा पनि देखियो । तीन सुन्दरी खुरुरुरु दौडिएर चुत्रोको घारीमा लुक्न गएको देखिहाले दाजु–भाइले । उनीहरूलाई आश्चर्य लाग्यो । 

‘को हुन सक्छन् यिनीहरू’, सिन्दुले भाइलाई हेर्दै प्रश्न ग¥यो ।‘को होलान त, आसपास बस्ती पनि छैन’, बिन्दुले जवाफ फर्कायो । ती सुन्दरीहरूको पहिचान खुलाउन उनीहरूलाई तान्त्रिक विद्या उपयोग गर्नै पर्ने भयो । अनि पत्ता लाग्यो उनीहरू देवी भगवती रहेछन् । दाजुभाइले उनीहरूलाई तान्त्रिक विधिबाट आफ्नो बसमा पारे । अनि दोलखा सहरमा लिएर गए । दोलखा सहरका मानिस बिहानीको चटारोमा व्यस्त थिए । हायहाय राजाको दरबार परिसरमा सुसारेहरू सेवाभावले नतमस्तक हुँदै आफ्नो दैनिकी अगाडि बढाइरहेका थिए । सिन्दु र बिन्दुले तीन सुन्दरीलाई भीमेश्वर मन्दिरको पटाङ्गिनीमा राखेर घडामा भरिएको तामाकोसीको जल भीमेश्वर मन्दिरमा चढाए र नियमित भक्तिभावसहित पूजाआराधना गरे । यतिबेलासम्म सहरका महिला, केटाकेटी र गन्यमान्य व्यक्तिहरू भीमेश्वरको पटाङ्गिनीमा जम्मा भइसकेका थिए । 

एक जना प्रौढ महिलाले जिज्ञासा राखिन्, ‘होइन यी सुन्दरी को हुन्, किन ल्याउनु भयो तपाईंहरूले ?’ महिलाको जिज्ञासासँगै भेला भएका सबैको आँखा सिन्दु र बिन्दुतिर तेर्सिए । यिनीहरू देवी भगवती हुन्, तामाकोसी किनारमा भेटिएकाले दोलखा सहरमा लिएर आयौँ’, सिन्दुले भन्यो । 

देवी भगवतीलाई सिन्दु र बिन्दुले तान्त्रिक विधिबाट बसमा पारेर दोलखा सहर ल्याएको कुरा हायहाय राजाको कानमा पनि प¥यो । उनले राज्यको एक जना सैनिकलाई आफ्नो सन्देशसहित भीमेश्वरको पटाङ्गिनीमा पठाए । 

अब दोलखा राज्यका जनहरूको ध्यान उनै सैनिकतिर तानियो । राजाले के सन्देश पठाए होलान्, यी देवी भगवतीहरूलाई के गर्ने होला, सबैको जिज्ञासा यस्तै थियो । स्वयम् सिन्दु र बिन्दुको ध्यान पनि उनै सैनिकको आदेशतिर केन्द्रित थियो । ‘राजाले यो सबै घटनाको जानकारी पाउनु भएको छ’, सैनिकले जानकारी गरायो । 

‘अनि राजाको सन्देश के छ त ?’ सिन्दुले जिज्ञासा राख्यो । आफ्नो ज्यानलाई सतर्कतापूर्वक तन्काउँदै सैनिकले सन्देश सुनायो, ‘यी देवी भगवतीहरू हाम्रो राज्यको पाहुना हुन् । यिनीहरूको सम्मान र संरक्षण राज्यको दायित्व हो । त्यसैले यिनीहरूलाई इच्छाअनुसारको व्यवस्था गर्नु भन्ने राजाको सन्देश छ ।’

राजाको सन्देशमा सिन्दु र बिन्दुले कुनै आश्चर्य वा आपत्ति प्रकट गरेनन् । सन्देशलाई स्वाभाविक ठाने । सुन्दरीहरूतिर फर्केर बिन्दुले सोध्यो, “हामीले हजुरहरूको सुरक्षाकै लागि यहाँ ल्याएका हौँ । त्यसैले अब तपाईंहरू के भन्नुहुन्छ, सोहीअनुसार गरिदिन्छौँ ।” तीन सुन्दरीमध्ये माइली कालिञ्चोक देवी बोलिन्, “म गौरीशङ्करको काखमा रमाउन चाहन्छु । त्यसैले मलाई माथि कालिञ्चोकको टाकुरामा बस्ने व्यवस्था गरियोस् ।” 

जेठी त्रिपुरासुन्दरी देवीले दोलखा सहरमै बस्ने इच्छा गरिन् । अनि कान्छी बालकुमारी देवीले पनि जेठी दिदी त्रिपुरासुन्दरीसँगै बस्ने इच्छा व्यक्त गरिन् । 

सिन्दु र बिन्दुले देवीहरूको चाहनाअनुसार नै बस्ने व्यवस्था गरिदिए । कालिञ्चोक भगवतीलाई दोलखा राज्यका जनहरूले बाजागाजासहित कालिञ्चोकको टापुमा पु¥याइ दिए । अनि त्रिपुरासुन्दरी र बालकुमारी देवी दोलखा सहरमै बस्न थाले । 

शरद ऋतुको समय । बिहानै गौरीशङ्कर हिमशृङ्खला छिचोलेर उदाएको सूर्यले पूरै दोलखा राज्य घमाइलो देखिन्थ्यो । हायहाय राजाको सन्तुलित शासनले राज्यका सबै जन खुसी र सुखी लाग्दथे । बिहान सबै आ–आफ्नो काममा व्यस्त भएको बेला पिङ्गल टोलमा एक जना महिला रोएको आवाज सुनियो । सुरुमा मसिनोसँग आएको त्यो आवाज कर्कस हुँदै गयो । अब दोलखा राज्यका सबैको ध्यान पिङ्गल टोलबाट आएको आवाजतिरै केन्द्रित हुन थाल्यो । 

कर्कस रोदनको आवाजसँगै पिङ्गल टोलको ती महिलाको छोरा बिहानैदेखि हराएको हल्ला पनि सहरभरि फैलियो । अब राज्यका सबै जन ती महिलाको छोरो खोज्न सक्रिय भए तर दिनभरि खोज्दा पनि भेटिएन । 

भोलिपल्ट बिहान टँसिचा टोलमा पनि त्यसैगरी एक जना महिला रोएको आवाज सुनिन थाल्यो । पिङ्गल टोलबाट हराएको बालकको खोजीमा सक्रिय जनहरूले थाहा पाए टँसिचा टोलबाट पनि एक जना बालक हराएछ । सानो सुन्दर र शान्त दोलखा राज्यबाट यसरी बालक हराउन थालेपछि कोलहल मच्चिन थाल्यो । सबै जन भयभीत हुन थाले । 

टँसिचा टोलका मुखियाले भने, “अब यो कुरा राजालाई भन्नु पर्छ ।” मुखियाको कुरामा सबैले सही थापे । सहरका सबै भद्रजन राजाको दरबारतिर लागे । दरबारमा भद्रजनहरू भेला हुँदा समय मध्यान्न भइसकेको थियो । हायहाय राजा आफ्नो बिहानको काम सकेर भोजनपछि विश्राम गरिरहेका थिए । 

भद्रजनहरू भेला भएको निकै समयपछि हायहाय राजा पटाङ्गिनीमा उपस्थित भए । हीरा, मोतीजडित सुनको जलप भएको पहिरन र आकर्षक श्रीपेचसहित उपस्थित भएका राजालाई सबैले झुकेर अभिवादन गरे । विश्रामपछि राजकाजको समय सुरु भएकोले राजा औपचारिक पोसाकमा आएको सबैले अनुमान लगाए । पटाङ्गिनीको पल्लो कुनामा हायहाय राजा विराजमान भएपछि भद्रजनहरू पनि आ–आफ्नो आसनमा बसे । 

सबैको आसनग्रहणपछि मन्त्रीले भद्रजनको समस्या सुनाए, “सरकार, राज्यको पिङ्गल टोल र टँसिचा टोलको एक÷एक जना बालक हराएको खबर छ । राज्यका भद्रजनहरू यही समस्या लिएर आएका छन् ।” 

राजाको मुहारमा अलिकति जिज्ञासा र अलिकति पीडाका धर्साहरू देखियो । गम्भीर तर आदेशात्मक लवजमा राजाले भने, “बालक हराएको कसको हो ? विस्तारमा सुनाउने अवसर दिनु ।”राजाको आदेशपछि मन्त्रीले पिङ्गल टोलको महिलातिर सङ्केत गरे । निरन्तरको अश्रु वर्षापछि कलेटी परेको महिलाको ओठ चलमलायोे, “सरकार अस्ति बिहान शौच गर्न भनेर निस्किएको मेरो छोरा घर फर्किएन । कहाँ गयो, कसले लग्यो पत्तो छैन ।” टँसिचा टोलको महिलाको जवाफ पनि त्यही थियो । नागरिकको गुनासो चासोका साथ सुनिरहेका राजाले माथि आकाशतिर आँखा दौडाए । सूर्य पूर्वबाट क्रमशः पश्चिमका लागि आफ्नै रफ्तारमा दौडिरहेको थियो । अब विलम्ब भएको भावमा राजाले आदेश दिए, “सिन्दु र बिन्दु तान्त्रिक दाजुभाइलाई बोलाएर बालक हराएको घटनाको वास्तविकता बुझ्नु र समस्याको अन्त्य गर्नू ।” 

राजाको आदेश आएपछि सबै आ–आफ्नो काममा लागे । मन्त्रीले सिन्दु र बिन्दुलाई दरबारमा बोलाउन उनीहरू बस्ने गरेको दुङ्गल टोलमा सैनिकलाई पठाए । समय आफ्नै रफ्तारमा दौडिरहेको छ । सूर्यको आकाश परिक्रमामा कहिले बादलुको छाँया देखिन्छ, कहिले चहकिलो किरण । 

आफ्नो जिम्मेवारीअनुसार तान्त्रिक दाजुभाइ सिन्दु र बिन्दुले बालक हराएको रहस्य पत्ता लगाए । तामाकोसी नदी किनारबाट आफूहरूले नै ल्याएको तीन दिदीबहिनी देवी भगवतीमध्ये कान्छी बालकुमारीले बालकलाई खाएको रहस्यले उनीहरूलाई बेचैन बनायो ।

रहस्य खुलेपछि उनीहरूले कुनै पनि जुक्ति लगाएर बालकुमारी भगवतीलाई बसमा पारी राज्यमा देखिएको त्रास र आतङ्कको अन्त्य गर्ने वचन राजालई दिए । तर कसरी ? यसको सहज समाधान भने उनीहरूसँग पनि स्पष्ट थिएन । 

जेठा सिन्दुको दिमागमा एउटा जुक्ति फु¥यो र भाइ बिन्दुलाई भन्यो, “तिमीले बालकुमारीसँग खेल्ने प्रस्ताव राख्नु किनभने तिमीहरूको उमेर पनि मिल्छ । अनि खेल खेलमै उनलाई बसमा पारेर बाँधेर राखिदिनु पर्छ ।” दाइको जुक्ति बिन्दुलाई ठिक लाग्यो । तान्त्रिक दाजुभाइ बालकुमारी भगवती भएतिर लागे । बनारसीभन्दा माथि डाँडामा त्रिपुरासुन्दरी देवी भगवती र बालकुमारी देवी भगवती भलाकुसारी गर्दै थिए । अलिक चुलबुले स्वभावकी बालकुमारी घरी उठ्ने, घरी दौडने, घरी उफ्रने गर्दै थिईन् । त्यही बेला टुप्लुक्क पुगेका तान्त्रिक दाजुभाइलाई देखेर त्रिपुरा सुन्दरी देवी भगवतीले सोधिन्, ‘किन यतातिर आउनु भयो ?’सिन्दुले जवाफ फर्काए, ‘तपाईंहरूको हालचाल बुझ्न आएको । कुनै अप्ठ्यारो पो छ कि भनेर ।’ त्रिपुरासुन्दरी देवी र सिन्दुको कुराकानी चलिरहँदा बिन्दुले भने तान्त्रिक विद्याबाट बालकुमारी देवीलाई मोहित बनाएर लुकामारी खेल्न कोविदेउतिर लगिसकेका थिए । 

लुकामारी खेल्दाखेल्दै बिन्दुले बालकुमारी देवीलाई एउटा ठूलो खाल्डोमा पु¥याए र खेलखेलमै आफ्नो तान्त्रिक विद्याबाट उनलाई फलामको साङ्लोले बाँधिदिए । आफूलाई भने पिठोको साङ्लो बनाएर बाँधे । अब बिन्दु पिठोको साङ्लो फुकालेर खाल्डोबाट माथि निक्लिए । बालकुमारी भने फलामको साङ्लो चुँडाल्न नसकेर त्यही खाल्डोमा बस्नु पर्ने भयो । यो चाल पाएपछि बालकुमारीले रुँदै भनिन्, “तिमीले मलाई धोखा दियौ ।” त्रिपुरासुन्दरी देवीसँगै सिन्दु पनि कोविदेउमा पुगे । तान्त्रिक दाजुभाइले बालकुमारी देवीले मानिस खान थालेको र दोलखा राज्यको रक्षाका लागि बाँध्नु परेको त्रिपुरासुन्दरी देवीलाई बताए । त्रिपुरासुन्दरी देवीले कुनै जवाफ दिइनन् । बालकुमारी देवी भने निरन्तर रुन लागिन् । बालकुमारी देवीको अति रोधनको कारण सिन्दु र बिन्दुलाई अति करुणा भयो । उनीहरूले बालकुमारी देवीलाई वर्षको एक पटक दोलखा सहर घुम्ने अनुमति दिए । 

सिन्दु र बिन्दुको प्रस्ताव बालुमारी देवीलाई स्वीकार्य थिएन । तर उनीसँग त्यसको विकल्प पनि थिएन किनभने उनको उपद्रोका कारण त्रिपुरासुन्दरी देवीले पनि उनको साथ दिएकी थिइनन् । आफूलाई नछोड्ने भएपछि बालकुमारी देवीले आग्रह गरिन्, “मलाई वर्षमा एक पटक कम्तीमा पाँच दिन चाहिँ बजार घुम्न दिनु ।”

उनको मागअनुसार वर्षमा एक पटक पाँच दिनसम्म दोलखा सहर घुम्न अनुमति बालकुमारी देवीलाई दिइयो । तर उनको अगाडि भैरवलाई पनि पठाउने तयो भयो किनभने तान्त्रिक दाजुभाइलाई डर थियो, एक्लै बालकुमारी देवीलाई मात्र पठाउँदा कतै फेरि मानिस खाने कुचेष्टा नहोस् !

बालकुमारीलाई बाँधेर राखेपछि सिन्दु र बिन्दुले यो खबर हायहाय राजासम्म पु¥याए र वर्षमा एक पटक पाँच दिनसम्म भैरवको साथ लगाएर दोलखा सहर घुम्न दिने सहमति भएको जानकारी पनि पठाए । 

हायहाय राजाले सिन्दु र बिन्दुलाई दरबारमा बोलाएर धन्यवाद सँगै केही असर्फीसमेत दिएर पठाए । अनि बालकुमारी देवीसँगको सहमतिअनुसार नै वर्षमा एक पटक पाँच दिनसम्म दोलखा सहर घुम्ने अनुमति पनि दिने भए । 

तान्त्रिक दाजुभाइको बन्धनमा परेको एक वर्षपछि बालकुमारी देवी दोलखा सहर घुम्दै थिइन् । मनमा कुण्ठा र पीडा भए पनि अनुहार उज्यालो थियो उनको । भैरवको पछिपछि हिँडेकी बालकुमारीको सौन्दर्यबाट मोहित दोलखा राज्यका जनले उनलाई कुमारी भन्न लागे ।

उनी बजारमा निस्कन लागेपछि दोलखा सहरका मात्र होइन टाढाटाढाबाट पनि मानिस भैरव र कुमारीलाई हेर्न आउन थाले । सत्कारका साथ दण्डवत्समेत गर्न थाले । यसरी दण्डवत् गरेको कुरालाई पछिपछि भैरव–कुमारीसँग आशीर्वाद लिएको भन्न थालियो । दोलखाका राजाले उनीहरू बजार घुम्दा भीड नहोस् भनेर पहिलो दिन भूतप्रेतले, दोस्रो दिन देवीदेवताले, तेस्रो र चोथो दिन अन्य राज्यका आगन्तुकले र पाँचौँ दिन दोलखा सहरका जनले हेर्ने व्यवस्था मिलाए । 

दोलखा राज्यमा मल्ल राजा हरसिंह देवले पनि शासन गरे । उनकै पालामा वर्षमा एक पटक भैरवको साथमा दोलखा सहरमा निस्कने अनुमति पाएको बालकुमारीको यात्रालाई भैरव–कुमारी जात्रा भन्न थालियो । 

मानिसको मृत्यु हुन्छ । तर देवीदेवता मरेको सुनिँदैन । देवीदेवता सायद अजम्बरी हुन्छन् । त्यसैले अहिले पनि प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट भैरव र बालकुमारीको दोलखा सहरको यात्रा अर्थात् भैरव–कुमारी जात्रा चल्छ ।