• १३ साउन २०८१, आइतबार

लाटोकोसेरो संरक्षणका लागि कैलालीमा उत्सव हुने

blog

पत्रकार सम्मेलन गरेर लाटोकोसेरो उत्सवबारे जानकारी दिइँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी/चाँदनी आचार्य

धनगढी, माघ १३ गते । कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । किसानका साथीको रुपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो । माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइएको अभिलेख छ । हाम्रो देशबाट वर्षमा दुई हजार जति लाटोकोसेरोको तस्करी हुने गरेका कारण यिनको संंरक्षणमा जोड दिनका लागि सन् २०१२ बाट नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न थालेको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो । 

उहाँका अनुसार सबैभन्दा पहिले धादिङमा उत्सव आयोजना गरिएको थियो । कैलालीमा आयोजना गर्न लागिएको उत्सव १० औं हो । यसअघि, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा उत्सव आयोजना गरिएको थियो ।  

सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन यस वर्ष कैलालीमा उत्सव गर्न लागेको उहाँको भनाइ छ । ‘नेपालबाट ३२ बाटो भएर लाटोकोसेरोको तस्करी हुन्छ । जसमध्ये सबैभन्दा बढी सुदूरपश्चिमबाट तस्करी हुनेगरेको छ’, आचार्यले भन्नुभयो, ‘चोरी शिकार र व्यापार लाटोकोसेरो संरक्षणका लागि प्रमुख चुनौती हो ।’

लाटोकोसेरोले मुसा खाएर किसानलाई सहयोग गर्ने गरेको जनाइएको छ । गोठे लाटोकोसेरोको एक परिवारले बच्चा हुर्काउने बेला एक सिजनमा तीन हजारसम्म मुसा खाने गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसैले यो चरालाई किसानको साथी पनि भन्ने गरिन्छ । 

दुई दिनसम्म आयोजना हुने उत्सवमा संरक्षणसम्बन्धी प्रवचन, लाटोकोसेरोकोबारेमा जानकारीमूलक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, पौराणिक खेलकुद प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन लगायतका कार्यक्रम हुने जनाइएको छ । मुङ्ग्रहुवा, सखिया, झुम्रा, हुरडुङ्ग्वा, देउडा, कौडा नृत्यका साथै, किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारङ्गी हाटाजस्ता लोपोन्मुख खेल हुने आयोजकले जानकारी दिएको छ । 

यस्तै, उत्सवको दोस्रो दिन संरक्षणमा योगदान पु¥याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पाण्डे छनोटमा पर्नुभएको छ । चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजकले जनाएको छ ।  

उत्सवका लागि तयारी भइरहेको चरा नेटवर्क सञ्जाल कैलालीका अध्यक्ष डीआर चौधरीले बताउनुभयो । उहाँले उत्सवमा आएको पाहुनाहरुको बसोबास र खानाको व्यवस्था माघी होमस्टे र सुखड, पहलमानपुर लगायतका होटलमा गरिएको उल्लेख गर्नुभयो । ‘करिब २०० देखि ५०० सम्म पाहुना आउने अनुमान गरेका छौं’, उहाँले भन्नुभयो, ‘एक सय जनालाई होमस्टे र बाँकीलाई होटलहरुमा सहुलियत दरमा बसोबासका लागि व्यवस्था गरेका छौं ।’