• ९ मंसिर २०८१, आइतबार

लगाउन छाडिए परम्परागत गहना

blog

गोकर्ण दयाल

बैतडी, माघ २ गते । सुदूरपश्चिमका महिलाले निधारमा लगाउने चाँदीको कण्डश्री, हातमा लगाउने चाँदीको बाला, गलामा मुगाको माला, चवन्नी माला, खुट्टामा चाँदीको पैडा, नाकमा नथ र कानमा लगाइने मुदडीलगायत परम्परागत गहना र गुन्युचोली लगाउने गर्दथे । यदाकदा ज्येष्ठ महिलाले परम्परागत गहना लगाइएको पाइए पनि पछिल्लो पुस्ताले ती गहना त्यागिसकेका छन् । बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकाका केही ज्येष्ठ नागरिकले अहिले पनि यी गहना लगाएको देख्न सकिन्छ । 

नयाँ पुस्ताले आधुनिक शृङ्गार मन पराउन थालेपछि परम्परागत पोसाक र गहना लगाउने चलन हराउँदै गएको सिगास गाउँपालिका–२, गाँजरीकी भागरथी धामीले बताउनुभयो । उहाँले स्थानीय चाडबाडका बेला केही ज्येष्ठ महिलासँग मात्रै मौलिक पोसाक र गहना देख्न पाइने बताउनुभयो । 

परम्परागत पोसाक र गहना मात्रै होइन, स्थानीय चाडबाडमा खेलिने ठाडो खेल, भलौलो, धुमारी, ढुक्सो, चौघान, क्रिपीलगायतका मौलिक डउडा खेल लोप हुन लागेको चैत, धुमारी र भलौलो विज्ञ ७५ वर्षीया कृपा कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाइस मिटर लामो गुन्यु लगाउने महिला भेटिँदैन । महिला, पुरुष सबैले जिन्स पाइन्ट लगाउने चलन आयो । बैतडीको च्वाँगढबाट पनि केही वर्षपछि मौलिक पोसाक र गहना पाका मान्छेको निधनसँगै लोप हुने अवस्था आएको छ ।”

मौलिक पोसाक र गहना संरक्षण गर्न स्थानीय तहको सरकारले ध्यान नदिने हो भने जिल्लाको च्वाँगढबाट यी गहना केही वर्षमै लोप हुने स्थानीय बुद्धिजीवी देवसिंह धामीले बताउनुभयो । 

विद्यालयले गर्ने सांस्कृतिक कार्यक्रममा यी मौलिक पोसाक र गहनाको संरक्षण गर्न गाउँपालिकाले आवश्यक बजेट छुट्याएर मौलिक पोसाक र गहना संरक्षणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । 

बैतडीका अन्य पालिकाबाट मौलिक पोसाक र गहना हराइसकेकाले च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकामा पोसाक र गहना संरक्षण गर्ने विषयमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । स्थानीय गाउँमा होमस्टे सञ्चालन गरेर परम्परागत पोसाक र गहना संरक्षण गर्न गाउँपालिकाले पहल थाल्ने उहाँले बताउनुभयो ।