अविनाश चौधरी
धनगढी, पुस २७ गते । सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गर्नुहुँदै छ ।
केन्द्रमा सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार उहाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लाग्नुभएको हो । दिउँसो २÷३ बजेतिर उहाँको दाबी पेस हुने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो ।
केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर सरकार चलाउने छन् । अढाई वर्ष एमालेका रावल र अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति छ ।
प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समयसीमा दिनुभएको छ । प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) बाट ११, नेकपा (एमाले) बाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ ।