अविनाश चौधरी
धनगढी, पुस २७ गते । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले समीकरणबारे आज निर्णय गर्दै छ ।
आज बस्ने सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकबाट के गर्ने भन्ने निष्कर्षमा पुगिने सो पार्टीका कानुनी सल्लाहकार सरोज बुढाथोकीले बताउनुभयो । उहाँले टीकापुर घटनाको मुद्दा खारेजीसहित तीनबुँदे मागलाई यथावत् राख्दै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पनि माग गरिरहेको बताउनुभयो । ‘यद्यपि अब कसरी जाने भन्ने कुराको ठोस निर्णय प्रदेश संसदीय दलको बैठकबाट मात्रै हुन्छ’, उहाँले भन्नुभयो,‘सुदूरपश्चिममा सत्ता साझेदार गठबन्धन वा नेपाली काँग्रेस कोसँग मिलेर जाने भन्ने कुराको निर्णय बैठकले नै गर्नेछ ।’
सङ्घमा सरकारलाई समर्थन जनाए पनि सुदूरपश्चिम प्रदेशको हकमा नागरिक उन्मुक्ति पार्टीले केही निर्णय लिइसकेको छैन । सत्ता साझेदार गठबन्धन दल र नेपाली काँग्रेस सो पार्टीलाई फकाइरहेका छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट सात जना सदस्यको प्रतिनिधित्व छ ।