• ८ पुस २०८१, सोमबार

दुई वर्षपछि अस्पतालकाे भवन निर्माण सुरु

blog

निर्माणाधीन ताँजाकोट गाउँपालिकाको अस्पताल । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, पुस २२ गते ।  दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन बल्ल निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो । 

तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले ताकेता गरेको छ । गाउँपालिका अध्यक्ष लालकेश जैसीले दश शैय्याको अस्पताल भवनको निर्माण कार्यले अहिले आएर गति लिएको बताउनुभयो । उहाँले  दुई वर्ष अगाडि शिलान्यास भएको भए पनि निर्माणकार्य अगाडि बढ्न नसकेको बेला गाउँपालिकाको ताकेतापछि निर्माण कम्पनी पक्षले यति बेला निर्माणकार्यलाई तीव्रता दिएको बताउनुभयो । उहाँले दैनिक निर्माण कम्पनीलाई काम चाँडो गर्न सम्झाउने गरेको र पटक पटक भवन निर्माण स्थलमा आफै अनुगमनमा पुग्ने गरेपछि काम अगाडि बढी रहेको बताउनुभयो । 

अघिल्लो वर्ष निर्माण कम्पनीसँग आठ करोड बजेट लागत लाग्ने गरी सम्झौता भएको र त्यसका कार्य प्रगति प्रतिवेदनका आधारमा मन्त्रालयबाट निकासा आउने गर्छ । उहाँले यस हिसाबले पनि निर्माणकार्य तीव्र पारेर बजेट निकासा चाँडो ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । आरसिसी भवनको यति बेला डिपिसी र पिलर निर्माणकार्य सम्पन्न भएको छ । अब गाह्रो लगाउने कार्य सुुरु भएको छ । उहाँले आफ्नो लक्ष आगामी असारसम्म भवनको निर्माण कार्य सम्पन्न गरेर अस्पताल नै सञ्चालनमा ल्याउने रहेको र त्यसै अनुसार अगाडि बढी रहेको बताउँदै अस्पताल भवन निर्माणकार्य सम्पन्न भएपछि जिल्ला अस्पतालपछिको दोस्रो अस्पताल ताँजाकोटमा सञ्चालन हुने बताउनुभयो ।