• १३ साउन २०८१, आइतबार

मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान

blog

सन्तोष सुवेदी

कास्की, पुस २२ गते । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। विमानस्थल सञ्चालनमा आउँदा पर्यटन व्यवसायी जति खुसी छन् उति नै दुःखी पनि छन्। 

पोखराको पहिचान बोकेको प्याराग्लाइडिङ विस्थापित हुने डरले पर्यटन व्यवसायीहरू दुःखी भएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण सराङकोटको डाँडाबाट हुने प्याराग्लाइडिङ उडान सेवा सङ्कटमा परेको छ। सराङकोटदेखि उड्दै फेवा तालको उत्तरी क्षेत्रमा ल्यान्डिङ हुँदै आएको प्याराग्लाइडिङ अब भने सो ठाउँमा उडाउन नपाउने व्यवस्था लागू गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटसहित तीन ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द गराएको छ।

अब त्यहाँदेखि करिब पाँच किमि टाढा मान्द्रेढुङ्गाबाट मात्रै प्याराग्लाइडिङ उडान हुनेछ। प्राधिकरणले प्याराग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णयसहितको पत्र लेखेर नेपाल हवाई खेलकुद सङ्घलाई जानकारी गराएको छ। अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो। प्राधिकरणले मान्द्रेढुङ्गामा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने समय तोकेको छ।

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए। सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो। मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन्। व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। नेपाल हवाई खेलकुद सङ्घका निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले नयाँ ठाउँमा आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बताउनुभयो।