• १२ असोज २०८१, शनिबार

अवैध रूपमा औषधि पसलहरू सञ्चालन

blog

फुङ्लिङ बजारका औषधि पसल अनुगमन गरिँदै । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्तालगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन गरेको पाइएको हो ।

जिल्ला अनुगमन समितिले बुधवार गरेको अनुगमनका क्रममा अवैध मेडिकल हल तथा औषधि सञ्चालन हुँदै आएको पाइएपछि वैधानिक प्रक्रिया पूरा गर्नलाई समय सीमा दिइएको छ । अवैध सञ्चालन भइरहेका औषधि पसललाई पछिल्लो निर्देशिकाअनुसार दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्नका लागि १५ दिनको समय सीमा दिएको समितिले जनाएको छ । 

अनुगमनका क्रममा अधिकांश मेडिकल हल, औषधि पसल, चस्मा घर तथा दन्त क्लिनिकहरू मापदण्ड अनुसारको प्रक्रिया पूरा नगरी सञ्चालित रहेको पाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले बताउनुभयो । वरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार यस्तो प्रक्रिया पूरा नगरेका पसल तथा क्लिनिकलाई सिफारिसका लागि मापदण्डअनुसार कागजातसहित सात दिनभित्र स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न निर्देशन गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले फुङ्लिङ बजारका १० वटा मेडिकल, निजी अस्पताल तथा औषधि पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश पसल अवैध तथा मापदण्ड विपरीत सञ्चालित रहेको पाइएको भट्टराईले बताउनुभयो । केही औषधि पसलमा मापदण्ड विपरीत औषधि र मच्छड (लामखुट्टे) मार्न प्रयोग हुने विषादी एकै ठाउँमा राखिएको पाइएकाले त्यसलाई तत्काल व्यवस्थापन गर्न लगाएको पनि उहाँले जानकारी दिनुभयो । 

यस्तै कतिपय औषधि पसलमा औषधिबाहेक अनुमति विपरीत कस्मेटिकसहितका सामग्री राखेको पाइएकोले त्यो समेत व्यवस्थापन गर्न निर्देशन गरिएको छ । त्यस्तै कतिपय निजी अस्पतालमा प्रयोग हुँदै आएको एक्स–रे सेवा मापदण्डविपरीत रहेको पाइएकोले तत्काल सुधार गर्न निर्देशन गरिएको पनि वरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेले बताउनुभयो । 

त्यसै गरी अनुगमनका क्रममा म्याद गुज्रेका औषधिहरू विक्री कक्ष (ठाउँ) बाट बाहिर राखी म्याद सकिएको भनी सङ्केत गरेर छुट्टै भण्डारण गर्न, सिरिन्ज लगायतका फोहोरजन्य सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिन सुझाव दिएको समितिले जनाएको छ । सम्बन्धित स्थानीय तह सहितका निकायमा दर्ता तथा नवीकरण हुनुपर्ने मापदण्डको पूर्ण पालना गर्नसमेत औषधि पसल तथा क्लिनिकहरूलाई आग्रह गरिएको छ । यता समय सीमाभित्र निर्देशनअनुसार प्रक्रिया पूरा नगरे कारबाही हुने समितिले चेतावनी दिएको छ ।