• २० असोज २०८१, आइतबार

शीतलहरले नवलपरासीको जनजीवन कष्टकर

blog

शितलहरका कारण सुनसान बनेको नवलपरासी सुनवलको सडक । तस्बिर : गोरखापत्र

गोपी ज्ञवाली 

नवलपरासी, पुस २० गते । पछिल्लो तिन दिन देखी बढेको शीतलहरका कारण पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ । नवलपरासीको मैदानी भागमा पछिल्लो तीन दिनदेखि बढेको शीतलहरका कारण घाम देखिएको छैन । लगातार परेको शीतलहरीका कारण वातावरणको तापक्रम ह्वात्तै घटेपछि बस्ती र बजार क्षेत्रमा समेत मानिसहरूको चहलपहल घटेको छ । 

लगातार परेको शीतलहरका कारण खेतबारीमा लगाइएका आलु, टमाटर लगायतका तरकारी बालीमा व्यापक क्षति पुगन थालेको छ भने वृद्धवृद्धा, बिरामी, बालबालिकाहरूका लागि जीवन अत्यन्तै कष्टकर बनेको जिल्ला सदरमुकाम परासीका स्थानीयवासी बुद्धन अलीले बताउनुभयो । 

शीतलहर बढेपछि जिल्लाका कतिपय विद्यालयहरूले विद्यालय बन्द गरेका छन् भने कतिपय विद्यालयहरूले परीक्षा सञ्चालन भएकाले बन्दा गर्न नसके पछि आम जीवन प्रभावित भएको छ । शीतलहरबाट बच्नका लागि रामग्राम नगरपालिका, पाल्ही नन्दन गाउँपालिका लगायतका स्थानीय सरकारले मानिसहरूको सहयोगका लागि बजार बस्तीका चोक चोकमा आगो बाल्नका लागि दाउरा समेत उपलब्ध गराएका छन् । कतिपय स्थानमा विपन्न परिवारलाई न्यानो कपडा वितरण पनि गरिएको छ । 

बाक्लो हुस्सुका कारण पूर्वपश्चिम लोकमार्गमा गुड्ने सवारी साधनहरू पनि अत्यन्तै  जोखिमपूर्ण यात्रा गर्नेको सङ्ख्या घटेको छ । बिहानदेखि नै बाक्लो हुस्सुका कारण जिल्लाको सदरमुकाम परासी बजार, सुनवल, गोपीगंज, बर्दघाट, सेमरी, सुस्ता, बेलाटारी लगायतका बजाराहरुमा दिउसोमा पनि बजारको चहलपहलमा कमी आएको छ ।