• २० असोज २०८१, आइतबार

टुटफुट अवस्थामै सडक हस्तान्तरणको तयारी

blog

भवानी ऐर

गोदावरी (कैलाली), पुस १८ गते । टुटफुट अवस्थामै निर्माण कम्पनीहरूले धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक हस्तान्तरणका लागि कार्यालयमा कागजात बुझाएका छन् । १४ दशमलव ६ किलोमिटरको उक्त सडकका दर्जनौँ ठाउँमा चिरा तथा खाल्टा पर्ने, भासिने र सडक सतह दब्दिएको भए पनि निर्माण कम्पनीहरूले निर्माण सम्पन्न भन्दै सडक विभागलाई हस्तान्तरण गरेका हुन् । 

दुई वर्षमा सबै काम सम्पन्न गर्ने भनेर २०७४ जेठमा सडकको ठेक्का सम्झौता भए पनि छैटौँ वर्ष अर्थात् गत असोजमा निर्माण कम्पनीले केही काम बाँकी छँदै सडक विभागलाई ६ लेन सडक हस्तान्तरण गरिसकेका छन् । तर मोहनापुलदेखि अत्तरियासम्म विभिन्न ठाउँमा सडक भत्किएको, दब्दिएको, चिरा परेको र खाल्टाखुल्टी परेको देख्न सकिन्छ । 

सडकमा थुप्रै ठाउँमा समस्या आएकाले कारण जान्न हस्तान्तरण स्वीकार नगरी अनुसन्धान भइरहेको सडक हेर्ने जिम्मा पाएको महाकाली पुल योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले बताउनुभयो । 

सडकमा धेरै ठाउँमा समस्या आएको छ, हाइस्पीड लेनमा सबैभन्दा बढी समस्या छ, उहाँले भन्नुभयो– “किन समस्या आयो भनेर सडक विभाग र निर्माण कम्पनीका इन्जिनियरको टोलीले संयुक्त अध्ययन गरिरहेका छन् । एक हप्ताभित्र प्रतिवेदन दिनु भनेको छु । त्यसपछि कारण थाहा हुन्छ ।”

६ लेन सडकको दुवै तर्फको हाइस्पिड लेनमा मात्रै होइन जर्सी बेरियर पछाडि पनि कालोपत्र उप्किन लागेको स्थानीयको भनाइ छ । मोहनापुलको मुखैमा सडक भत्किन लागेको छ भने ट्राफिक चौराहादेखि गेटाको मत्स्य विकास केन्द्रसम्म धेरैजसो ठाउँमा सडक दब्दिएको, चिरा परेको र भाँसिएको छ ।

सडकमा निर्माण सम्बन्धी कामको सूक्ष्म अनुसन्धान भइरहेको भन्दै सडक विभाग र निर्माण कम्पनीको इन्जिनियरको टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि मात्रै सोबारे के गर्ने भनेर भन्न सकिने महाकाली पुल योजना कार्यालयका डिभिजनल इन्जिनियर गुरुङले बताउनुभयो । 

एक अर्ब ६८ करोड लागतमा निर्माण भएको मोहना पुल–अत्तरिया ६ लेन सडकको विभिन्न ठाउँमा निर्माणलगत्तै कैफियत आएको भन्दै सर्वसाधारणले खबरदारी गरेका छन् । तोकिएको भन्दा तेब्बर समय लगाएर प्रदेशको राजधानीमा निर्माण भएको सडकको यस्तो हालतले राम्रो सन्देश नदिएको स्थानीयको गुनासो छ ।