• १३ साउन २०८१, आइतबार

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

blog

भक्तपुर,  पुस   १८ गते । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।

नगरपालिकाका पर्यटन सूचना केन्द्र प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताउनुभयो । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु. पाँच सय शुल्क भने यथावतै राखिएको  र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग रु. एक हजार पाँचसय लिँदै आएकामा जनही रु.   एक हजार ८०० लिने निर्णय भएकोे  उहाँले बताउनुभयो । 

प्रमुख लासिवाले भन्नुभयो,“नगरपालिकाले नगर परिषदबाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई जनवरी १ देखि लागू गरेका हाैं, डलरको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग रु. १५ अमेरिकी डलर नै लिने र नेपाली रुपियाँ भुक्तानी गर्नेको हकमा रु. एक हजार आठसय लिने निर्णय भएको छ ।”